बिर्तामोड मंसिर २७ । झापाको दमक नगरपालिकामा मासु तथा दुधको बजार व्यवस्थापनका लागि सरोकारवालाहरुले ७ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । उपभोक्ताहित संरक्षणको आयोजनामा भएको खाद्य स्वच्छताका सम्वन्धमा आयोजना शनिबार आयोजना भएको कार्यक्रममा सहभागीहरुले मासु तथा दुधको बजारलाई व्यवस्थित, आधुनिक तथा स्वच्छ बनाउने लक्ष्य सहित प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिद्धता पत्रमा कार्यक्रमका प्रमुख अतिथी झापा क्षेत्र –४ का सांसद एलपी साँवा, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष ज्योती बानिया, दमक नगर अध्यक्ष डा.नविन चापागाँई, नेपाल डेरी एशोसिएसनका प्रदेश –१ संयोजक हेमचन्द्र खनाल, झापा जिल्ला मासु व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष राजन खड्गी लगायत किसान एवम् व्यवसायीहरुले हस्ताक्षर गरेका छन् । यस्तै खाद्यस्वच्छता विज्ञ केपी लम्साल, नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन आयोजनाका डा. कृष्णप्रसाद यादव, दमक बजार अनुगमन समितिका संयोजक भिम पौडेल, विभिन्न वडाका वडाध्यक्ष लगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिवद्धता पत्रमा दमक नगरपालिकाले मासु र दूधलगायत खाद्य स्वच्छतासम्बन्धी विशेस कार्यक्रम सञ्चालनका लागि कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा सहजीकरण गर्न सम्वन्धित सरोकारवाला भएको एक समिति गठन गरि तत्काल काम शुरु गर्ने । नगरपालिका भित्र मासुको उत्पादन, हाटबजार, वधशाला, मासु बिक्रिस्थलमा रहेका नापतौलका सामाग्रीहरु समेतलाई तत्काल अनुगमन गरि अनुगमनबाट अचुचित व्यापारीक क्रियाकलाप भेटिएका कार्वाही गर्ने ।

दमक नगरपालिका भित्र दुधको उत्पादन तथा विक्रिमा रहेका नापतौलका सामाग्रीहरु समेतलाई तत्काल अनुगमन गरी अनुगमनबाट अनुचित व्यापारीक क्रियाकलाप भेटिएमा कार्वाही गर्ने । दमक नगरपालिका भित्र सञ्चालन हुने मासु तथा दुधका संकलन केन्द्र, ढुवानीका साधनहरु, संकलन र भण्डारणका सामाग्रीहरु वधस्थलहरु तथा बिक्री केन्द्रहरुको न्युनतम मानक तथा मापदण्ड तयार गरि लागु गर्ने । दमक नगरपालिकाले मासु र दुधको उत्पादन, व्यवसाय प्रवद्र्धन तथा विकासको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, सो कार्यक्रममा सरोकारवालाहरुले सहयोग गर्ने ।


दमक नगरपालिकाले दुध र मासु जस्ता पोषणयुक्त वस्तुहरुलाई आम उपभोक्ताहरुले सहज, सुलभ र सरल रुपमा उपलव्ध हुने गरि आवश्यक व्यवस्थापनको लागि विशेस कार्यक्रम तर्जुमा गर्ने । दमक नगरपालिकाले दुध र मासुजस्ता पोषणयुक्त वस्तुहरुको उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न उपभोक्ता हित संरक्षण मञ्च, व्यवसायी, संघ संस्था र नगरभित्रका सञ्चारमाध्यमहरु मार्फत उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नेलगायत विषय समेटिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्