मेचीनगर , पुष १ । नेपालको पूर्वी नाका खोल्नुपर्ने माग राख्दै व्यवसायीहरुले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

काँकरभिट्टामा बसपार्कमा आयोजित शान्तिपूर्ण प्रर्दशनकै बीच प्रहरीले हस्तक्षेप गरेको हो ।
पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले आज केहीबेर बसपार्कमा यातायात बन्द गरेर प्रदर्शन गरेका थिए । कोणसभा हुँदाहँुदै इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्र पोख्रेलसहित सशस्त्र प्रहरीले कोणसभालाई बिथोल्दै यातायात सुचारु गराएको थियो ।
प्रहरीले वल गरेको भन्दै प्रदर्शनमा उत्रिएका दुबै संघले आपत्ति जनाएका छन । एकाएक दमन गर्ने शैलीमा प्रहरी प्रस्तुत भएको भन्दै होटेल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार गोपाल श्रेष्ठले आपत्ति जनाए ।
ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले पनि प्रहरीको कार्यशैलीले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप भएको भन्दै थप आन्दोलन चर्काउने चेतावनी दिए । यसअघि पनि यी संघले नाका खोल्नुपर्ने मागसहित बिरोध प्रदर्शनसँगै हस्ताक्षर अभियान संकलन गरिसकेका छन् ।
कोरोनाको संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सीमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको र जसका कारण नगरका हरेक व्यवसायीहरूले लाखौँ आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दै अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्ने उनीहरूको माग रहेको छ ।