बिर्तामोड, पुष ४ । असंगठित श्रम रोजगारीको रुपमा रहेका बिर्तामोड क्षेत्रका कामदार कर्मचारी र व्यवसायीबीच सात बुँदे समझदारी भएको छ ।

बिर्तामोड क्षेत्रका व्यवसायीहरुको हकहित र अधिकारको लागि क्रियाशील बिर्तामोड उद्योग वाणिज्य संघ र श्रम गर्ने कामदार कर्मचारीहरुको लागि कार्यरत युनिकम नेपालबीच सो समझदारी भएको हो । समझदारी पत्रमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । समझदारी पत्रको पहिलो बुँदामा श्रम विवाद समाधानका लागि संयुक्त समिति निर्माण गर्ने रहेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका ३ जना प्रतिनिधि र युनिकम नेपालका ३ जना प्रतिनिधि सम्मिलित संयुक्त श्रम विवाद समाधान समिति गठन गरी बिर्तामोड क्षेत्रमा श्रम शोषण , लैङ्गिक हिंसा , बालश्रम शोषण वा युनिकम नेपालका कुनै पनि सदस्य कामदारले खराव आचरण गरे , व्यापार व्यवसायमा हानी नोक्सानी गरेकोलगायतका विषयमा संयुक्त श्रम विवाद समाधान समितिमार्फत तत्काल छानविन गरी आबश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ ।

त्यस्तै श्रम ऐनलगायतका ऐन कानुनको कार्यान्वयन र श्रम विवाद समाधानका लागि सरोकारवाला सरकारी निकाय र स्थानीय सरकारसँग समन्वय गर्ने , बिर्तामोड क्षेत्रका उद्योग , व्यापार व्यवसायको क्षेत्रमा कार्य गर्ने सम्पूर्ण कामदार कर्मचारीलाई रोजगार सम्बन्ध स्थापित हुने फोटोसहितको परिचयपत्र , न्यूनतम पारिश्रमिक , साप्ताहिक विदा , मई दिवसका दिन विदा र सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नु गराउनु राज्यको श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन अनुसार व्यवसायीको दायित्व हुनेलगायतका बुँदाहरु समेटिएका छन् । त्यस समझदारी पत्रको रोहवरमा संवाद समूहका एकराज गिरी , बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख पवित्रा महतारा प्रसाई , श्रम तथा रोजगार कार्यालय मेचीका प्रतिनिधि मातृका कट्टेल र युनआई नेपालका शंकर लामिछाने रहेका छन् । बिर्तामोड उद्योग बाणिज्य संघमा आबद्ध भई बिर्तामोड क्षेत्रमा ३ हजारभन्दा बढी व्यवसायीहरु रहेका छन् भने त्यसमा दैनिक काम गर्ने १० हजारभन्दा बढी कामदार कर्मचारीहरु कार्यरत रहेका छन् ।

समझदारी पत्रमा हस्ताक्षर भएपछि युएनआई नेपालका अध्यक्ष शंकर लामिछानेले बोल्दै काम मर्यादित हुनु पर्ने , काम गर्ने र गराउने दुवैको संगठन हुनु पर्ने , सामाजिक सुरक्षा हुनु पर्ने र सामाजिक संवादको संस्कृति हुनु पर्नेमा जोड दिए । त्यस्तै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महताराले श्रमिकहरुको गरेको श्रमको उचित कदर गर्न नसके व्यवसायीहरुको व्यवसाय सफल हुन नसक्ने बताइन् । झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले काम दिने र लिने बसेर सहमति गर्नु अत्यन्त राम्रो काम भएको भन्दै सहमतिलाई दीर्घकालीन रुपमा लैजान सुझाव दिए भने श्रम कार्यालयका प्रतिनिधि मातृका कट्टेलले सरकारले ल्याएको सामाजिक सुरक्षा ऐनको कार्यान्वयनमा जोड दिए । उद्योग वाणिज्य महासंघका केन्दी्रय सदस्य उमेश डालमिया र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले कामदार कर्मचारी र व्यवसायीबीच भएको समझदारलिे पूर्वबाट सह्रानीय कार्यको थालनी भएको भन्दै यसबाट व्यवसायी र श्रमिकबीचको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की , वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी , उपाध्यक्ष पार्वता विमली खरेल , अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष भुपाल सापकोटा , ट्रेड युनियन कांगे्रसका बसन्त रिमाल , यज्ञप्रताप अधिकारी , नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष ओमकृष्ण विमली , प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संचारकर्मी केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्