झिलझिले , पुष ४ । करिव २८ करोड रुपैयाँको लागतमा झापाको शिवसताक्षीमा अत्याधुनिक वाटर किङडम पार्क सञ्चालनमा आएको छ ।

झिलझिलेमा निर्मित पार्क एक साता अघिदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । पार्कको विधिवत उद्घाटन भने पछि गरिने सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएको अत्याधुनिक पार्क २ विगाह क्षेत्रफलमा फैलिएको छ । वाटर पार्क बनाउन करिब २ वर्ष लागेको सञ्चालक संग्रौलाले बताए । ‘लकडाउन नहुँदो हो त १५ महिनामा निर्माण सक्ने योजना थियो,’ सञ्चालक संग्रौला भने । यो पार्कमा परिवार, बालबच्चासहित सवै उमेर समूहका मानिसहरु रमाउन सकिने गरी मनोरञ्जनका संरचनाहरु निर्माण गरिएको उनले बताए ।
उनका अनुसार पार्कभित्र होटल, रेष्टुरेन्ट, वार र क्यासिनो पनि सञ्चालनको तयारीमा छन् । पार्कमा आउने पर्यटकका लागि आवश्यक पर्ने यी सुविधा यसै सातादेखि नै पूर्णरुपमा सञ्चालनमा आउने संग्रौलाले बताए ।

पार्कमा जिपलाईनका दुई आईटम सिङगल र सुपरमेन सुरु भएका छन् । यो खेल साहसिक खेल हो । जमिनबाट ५८ फिटको उचाईमा रहेको १५८ मिटर दुरीको जिपलाईन सञ्चालन भइरहेको छ । उद्घाटन पूर्व पार्कले निर्धारण गरेको मूल्यमा छुट दिएर जिपलाईन सञ्चालन भईरहेको उनले बताएका छन् ।

माघपछि पार्कभित्र पानीको सहायतामा खेलिने १३ प्रकारका खेल पनि सुरु हुने छ । संग्रौलाका अनुसार ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय फिट लामो स्लाइडिङ गरी स्वीमिङ पुलमा उत्रिदै पानीको मज्जा लिन सकिने छ ।

त्यसैगरी ३० फिटको उचाईमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय फिट लामो फ्ल्यास पुलमा ल्याण्ड गर्न सकिने छुट्टाछुट्टै स्ट्रेट स्लाइड र वेभ स्लाइड निर्माण गरिएका छन् ।
झापाका १५ स्थानीय तहमध्ये शिवसताक्षी नगरपालिका धार्मिक दृष्टिकोणले समेत उतिकै महत्वपूर्ण पालिका हो । पौराणिक कथासंग जोडिएका यहाँका सताक्षीधाम, चिल्लागढ, कनकाई नदी र दोमुखा पर्यटकीय क्षेत्र मानिन्छन् । नगरभित्र अर्को अत्याधुनिक प्रकृतिको पार्क निर्माण भएपछि सबै उमेर समूहका मानिसले थप मनोरञ्जन लिन सक्ने शिवसताक्षी नगर उद्योग बाणिज्य संघका कोषाध्यक्ष कृष्ण खरेलले बताए ।

वाटर पार्कमा अर्का सञ्चालक सौजन संग्रौलाले पार्क खुल्ला हुन थालेपछि यहाँ आएर फोटो खिच्ने, जिपलाईनको मज्जा लिनेको संख्या बढ्न थालेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्