बिर्तामोड, पुष १२ । स्कूल पढ्ने बेलामा धेरै विद्यार्थीहरुले महेन्द्र रत्न मावि अनारमनीकी शिक्षिका निरा प्रधानलाई छुच्ची गुरुआमा भन्ने गर्थे । अनुशासनमा बस्न लगाउने,सही आचरणमा हिड्न लगाउने र मर्यादा सिकाउने गर्दा नै उनलाई विद्यार्थीहरुले त्यति मन पराउँदैनथे । तर, अहिले उनी सबैको पूज्यनीय भएकी छन् । उनीप्रति सबैले श्रद्धा गर्छन् । किनकि उनले दिएको शिक्षा र मार्गनिर्देशनले नै तिनै विद्यार्थीहरु शिक्षित र असल नागरिक बनेका छन् ।

जन्मथलो भारतको दार्जिलिङ भएपनि महेन्द्र रत्न माविलाई कर्मथलो बनाएर निरा गुरुआमाले आफ्नो सम्पूर्ण जीवन बिताइन् ।उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर विद्यार्थीहरुमा अन्धकाररूपी अज्ञानता हटाउन निरा गुरुआमा र उनका श्रीमान् हस्तमानले महेन्द्र रत्न माविमै आफ्नो जिन्दगी समर्पित गरे । हस्तमान जो अहिले छैनन् । दिवंगत भइसके । निरा गुरुआमा उत्तराद्र्ध जीवनको भोगाइमा छिन् ।

महेन्द्र रत्न माविका ती दुई अभिभावक हस्तमान र निराले २०२० सालदेखि अध्यापन थालेका थिए । जव यस विद्यालयको नाम महेन्द्र रत्न विद्या भवन मल्टिपर्पोज मिडिल स्कूल रहेको थियो । पहिला हस्तमान र त्यसको केही महिनापछि २०२० सालको पौष महिनादेखि निराले विद्यालयमा शिक्षण थाले । १२ महिनाकी जेठी छोरी सरितालाई लिएर उनीहरु दार्जिलिङबाट नेपाल आएका थिए । पूर्व–पश्चिम राजमार्ग नबनेको अबस्थामा आफूहरु सिलिगुडीदेखि गलगलियासम्म रेलमा र त्यसपछि भद्रपुरबाट बिर्ताबजार सम्पनी गाडी (सजाइएको बयलगाडा)मा आएको उनी संझन्छन् । बिर्ताबजार वरपर जंगल र झाडी रहेको र दिउँसै स्याल कराउने गथ्र्यो । बिर्ताबजार आएर आफूहरु दुवैले टीनको छानो भएको हलजस्तो घरमा पढाउन थालेको स्मरण गर्दै उनले शुकदेव चौधरीको घरमा एउटा कोठा डेरा लिएर बसेको विगत सुनाइन् । ‘दार्जिलिङको शहरी परिवेशमा हुर्केका हामीहरुलाई शुरुमा अनौठो लाग्यो’ उनले भनिन्,‘महिलाहरुले पेटानी लगाउनेजस्ता परम्परा अनौठो मान्दामान्दै यहीकै जीवनशैली अपनाउन थाल्यौं । ’

निरा गुरुआमाले गृह विज्ञानसँगै अरु विषय पनि पढाउने गर्थिन् । विद्यार्थीहरुलाई अनुशासन र सही आचरणमा राख्न खोज्दा नै उनले छुच्ची गुरुआमाको उपमा पाएकी हुन् ।‘ निरा गुरुआमाले त्यति अनुशासनमा नराखेको भए हामीले शिक्षा आर्जन गर्न सक्दैनथ्यौं होला’ नेपाल विद्यार्थी संघकी पूर्व सहमहामन्त्री उमा शिवाकोटी भन्छिन् । आफ्नै आमा निराबाट शिक्षा आर्जन गरेर अहिले चिकित्सक बनेकी जेठी छोरी डा.सरिता श्रेष्ठले आफ्नी आमा बाहिर कडा देखिएपनि भित्री मनले अत्यन्त नरम र दयालु भएको बताउँछिन् । पोशाकमा सफा र चिटिक्क विद्यार्थीलाई मन पराउने निरा गुरुआमाले मेकअप गरेर आउने छात्राहरुलाई गहना फुकाल्न लगाएको घटना निकै छन् । अनुशासनमा आफू बस्ने र अरुलाई पनि राख्ने स्वभावका कारण उनी स्काउट शिक्षक नियुक्त भइन् । उनले स्काउटमा डिप्लोमा गरिन् । उनले सिकाएका विद्यार्थीहरु असल नागरिक बनेर देशको उच्च ओहोदामा पुगेको पूर्व विद्यार्थी विरबहादुर दर्नाल बताउँछन् ।

उमेर हदका कारण २०६२ साल पौष १२ गते उनले अनिवार्य अवकाश प्राप्त गरिन् । त्यसपछि उनी पूर्णरुपमा आध्यात्मिक क्षेत्रमा लागिन् । आध्यात्मिक ज्ञानसँगै शिक्षा प्रदान गर्नका लागि सत्य साई केन्द्र अनारमनीमा उनले नै पहिलो पटक वाल विकास शुरु गरेकी हुन् । शैक्षिक, सामाजिक र आध्यात्मिक सेवामा लागेकी उनी स्काउटको दीर्घकालीन पुरस्कारबाट पुरस्कृत भएकी थिइन् भने अनारमनी पब्लिक क्याम्पस, टावर टेम्पल स्कूल , प्रसन्न एकता परिवारलगायतका दर्जनौं संघसंस्थाबाट सम्मानित भएकी छन् ।

यसैबीच निरा गुरुआमालाई महेन्द्र रत्न माविको भुतपूर्व विद्यार्थी समाजले भोलि ७६ औं जन्मदिनको अवसर पारेर सम्मान गर्ने भएको समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । त्यस अवसरमा सत्य साई केन्द्र अनारमनीलगायतका संस्थाहरुले पनि उनलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्