बिर्तामोड , पुष २९ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले क्यान्सरपीडितलाई सहयोग गरेर पहिलो कार्यक्रम थालनी गरेको छ ।

संस्थाले लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसरमा बिर्तामोड ४ की क्यान्सरपीडित ५० वर्षिया रमला क्षेत्रीलाई उपचारका लागि ४१ हजार रुपैयाँ सहयोग गरेको हो । लायन्स क्लबको भगिनी संगठनको रुपमा पुष १० गते सो सामाजिक संस्था स्थापना भएको थियो । बाह्रदशी २ घर भएर विगत १८ वर्षदेखि रमला श्रीमान र दुइृ छोराछोरीसहित बिर्तामोडमा डेरामा बस्दै आएकी छन् । उनका श्रीमान् पुण्यप्रसाद रिजाल मजदुरी गर्छन् । गत मंसिर १८ गते उनलाई स्तन क्यान्सर भएको चिकित्सकले पुष्टि गरेका थिए । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार गराउँदा ९ लाखजति खर्च भइसकेको श्रीमान् पुण्यप्रसाद बताउँछन् । उपचारमा समस्या भएपछि आफ्नो संस्थाले क्यान्सरपीडतलाई सहयोग गर्ने पहिलो कार्यक्रम बनाएको अध्यक्ष लीला मैनालीले बताइन् ।

बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्य एवं संस्थाकी अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा , डिष्ट्रिक चेयर पर्सन निरज ओली , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले बोलेका थिए । जनसम्पर्क अधिकारी निर्मला सुवेदी नेपालले संयोजन गरेको कार्यक्रमको स्वागत सरु भुर्तेल खनाल र संचालन मीरा खड्काले गरेकी थिइन् । पीडित परिवारले उपचारमा सहयोग गर्ने संस्थाप्रति धन्यवाद दिँदै अन्य मनकारी ब्यक्ति ,संघसंस्थालाई पनि सहयोगका लागि आग्रह गरेका छन् । उपचार सहयोग गर्नेहरुका लागि एनआइसी एशिया बैंक बिर्तामोडमा ००९५७५०९२७४३४००१ नं खाता खोलिएको श्रीमान् पुण्यप्रसादले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्