राजगढ , पुष २९ । राजवंशी समाज विकास समितिको सुविधासम्पन्न सामुदायिक भवन झापाको बाह्रदशीमा निर्माण हुने भएको छ ।

शिलान्यास गरिदै

राजवंशी समाज विकास समिति बाह्रदशीले सो सामुदायिक भवन निर्माण गर्न लागेको हो । साढे पाँच कठ्ठा जग्गामा ५ करोड २४ लाख १७ हजार रुपैयाँको लागतमा कम्पाउन्डसहितको तीनतले भवनको आज शिलान्यास गरिएको छ । बाह्रदशी ३ स्थित घाटोसरी घाट, घाग्रा पुलको छेउमा निर्माण हुने सो सामुदायिक भवनको बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी , ३ नं वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशी , राजवंशी समाज विकास समिति बाह्रदशीका अध्यक्ष राजु राजवंशी , केन्द्रीय उपाध्यक्षद्वय उपासी राजवंशी , हिरा राजवंशी , केन्द्रीय सदस्य पर्शुराम राजवंशीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

बन्न लागेको भवन

सो भवन निर्माण गर्नका लागि यस वर्ष तराई मधेश कार्यक्रमबाट ४५ लाख रुपैयाँ आएको छ भने गाउँपालिकाले २० लाख रुपैयाँ छुट्याएको छ । भवन निर्माणको काम मिराकहाङ कन्स्ट्रक्सन प्रालिले लिएको छ । पुष ९ गते ठेक्का लिएको त्यस ठेकेदार कम्पनीले २०७८ जेठ १५ गते कबुलबमोजिमको काम सक्नुपर्ने संझौता छ । भवनको लागि वासीलाल , चन्दु , अमृत राजवंशीको परिवारले साढे दुई कठ्ठा जग्गा निशुल्क प्रदान गरेका थिए । वडा नं ३ का वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रत्नाकुमारी राजवंशी ,राजवंशी समाज विकास समितिका केन्द्रीय सचिव चन्द्र राजवंशीलगायतले बोलेका थिए । कार्यक्रमको संचालन गाउँपालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्