भद्रपुर , माघ १५ ।झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुष ७ गतेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न सातौं नगरसभाले सो निर्णय गरेको हो । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभामा पुष ७ गनेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने गरिएको प्रस्तावलाई नगरसभाले पारित गरेको छ ।

यही पुष ७ गते भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । भद्रपुर १ नं प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह बनेको छ भने देशकै पाँर्चौं बालमैत्री नगरपालिका बनेको छ ।
नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय र ऐतिहासिक कार्य गरेको भन्दै खुशीयालीस्वरुप पुष ७ गतेलाई बालमैत्री घोषणा दिवस मनाउने निर्णय नगरसभाले गरेको नगरप्रमुख श्रेष्ठले बताए ।
नगरसभाले बालबालिकासम्बन्धी रणनीतिक योजनामार्फत नगरभित्रका बालबालिकाको सर्वाङ्गीण विकासका लागि योजनाहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी, नगरसभाले चालु आर्थिक वर्षको ६ महिने प्रगतिको समीक्षा गर्नुका साथै थप योजनाहरु पनि पारित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्