बिर्तामोड, माघ १६ । के.पी. शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले असंवैधानिक रुपमा गरेको संसद विघटनविरुद्ध नेपाली कांग्रेसका भातृ संघसंस्थाहरुले माघ १९ गते बिर्तामोडमा जिल्लाब्यापी विरोध प्रदर्शन गर्ने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन तथा नेपाली कांग्रेस झापाको शुक्रबार सम्पन्न संयुक्त बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा केन्द्रीय सदस्यहरु सुधिरकुमार शिवाकोटी, दिलिप राई, पूर्व सांसद डिल्ली सिटौला, पार्टीका पदाधिकारी–सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्थाका सभापतिहरुको उपस्थितिमा सम्पन्न संयुक्त बैठकले माघ १९, माघ २४ र फागुन ३ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।जसअन्तरगत माघ १९ गतेको विरोध प्रदर्शनमा कांग्रेसका भातृ संघसंस्थाहरुको नेतृत्व रहनेछ भने २४ गते शुभेच्छुक संघसंस्थाको नेतृत्वमा बिर्तामोडमा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न हुने नेपाली कांग्रेस झापाका सचिव ताराविर कटुवालले जानकारी दिए । नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेका अनुसार फागुन ३ गते पार्टीकै नेतृत्वमा सदरमुकामकेन्द्रित विरोध प्रदर्शन हुनेछ ।

बैठकमा नेपाली कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले ओलीको कदमले लोकतान्त्रिक संविधान नै संकटमा परेको भन्दै लोकतान्त्रिक संविधानको रक्षाका कांग्रेस सडकमा उत्रिएको बताए । अर्का केन्द्रीय सदस्य राईले कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र संविधानविरोधी कामले मुलुकलाई अन्धकारतर्फ धकेलेको धारणा राखेका थिए ।

पूर्व सांसद सिटौलाले सातदशक अघिदेखि लोकतान्त्रिक विधि र पद्धतिका लागि संघर्ष गर्दै आएको स्मरण गर्दै लोकतान्त्रिक विधि र पद्धतिबाटै सत्तामा पुगेका कम्युनिष्ट नेताहरुले विधिको पालना नगर्दा संवैधानिक संकट निम्तिएको बताए ।
के.पी ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेको थियो । ओलीको उक्त कदम विरुद्ध नेपाली कांग्रेसले यसअघि जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगर र वार्डस्तरसम्म विरोधका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्