बिर्तामोड , माघ २२ । सबैका लागि प्रिय रहेका पर्शु सिटौलाको असामयिक निधनले बिर्तामोडवासी दुखी बनेका छन् । एकजना सामाजिक एवं राजनीतिक हस्ती गुमाएको उनीहरुले महसुस गरेका छन् ।

विभिन्न संघसंस्थामा आबद्ध सामाजिक व्यक्तित्व सिटौलाको बुधबार राति निधन भएको हो ।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष , विराट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष , अनारमनी पव्लिक क्याम्पसका उपाध्यक्ष, विराट भरत विश्रान्तिका कोषाध्यक्ष ,दुर्गा मन्दिर निर्माण समितिका अध्यक्ष , सिटौला सेवा समाजका निवर्तमान अध्यक्षलगायतका पदमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील ५५ वर्षिय सिटौलाको राति ८ बजे ह्रदयघातबाट निधन भएको हो । राति साढे ७ बजे शौचालय जाँदा नाक र मुखबाट अचानक रगत बगेर बेहोस भएका उनलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालादै बाटैमा मृत्यु भएको विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रुद्र सिटौलाले बताए ।
बुधबार दिनभरि विराट बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना गर्न लागेको सहकारी पसलका लागि अन्य सहकारीले सञ्चालन गरेका पसलहरुको अवलोकनका लागि पर्शुसहितको टोली बिर्तामोडदेखि गौरीगञ्ज पुगेको थियो । घर फर्केपछि उनी अचानक विरामी भएका थिए । ‘दिनभरि रमाइलो गर्दै सातजना सहकारीकर्मी एउटै स्कोरपियोमा चढेर सहकारी पसल अवलोकन गरी फर्केका थियौं’विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रुद्र सिटौलाले भने , ‘ राति उहाँका निधन भएको खबर आउँदा छाँगाबाट खसेजस्तै भयो ।’ आगामी बैशाख १ गतेबाट विराट सहकारीले सहकारी पसल खोल्ने योजना बनाएको थियो । जसको लागि पर्शुकै संयोजकत्वमा समिति निर्माण गरी तयारी थालिएको थियो । उपाध्यक्ष पर्शुको निधनले एकजना असल योद्धा गुमाएको महसुस गरेका सिटौलाले संस्थालाई अपुरणीय क्षति पुगेको बताए ।
सामाजिक क्षेत्रमा अग्रणी भएर काम गरिरहेका पर्शु झापा केन्द्रित विभिन्न संघ–संस्थाको नेतृत्वदायी भूमिकामा क्रियाशील थिए । अनारमनी पव्लिक क्याम्पसको उपाध्यक्षमा लामो समय रहेर उनले त्यसको भौतिक एवं शैक्षिक विकासमा योगदान दिएका थिए । कुरा कम गर्ने काम बढी गर्ने एकजना कर्मठ र जिम्मेवार व्यक्तित्व गुमाउनु परेको अनारमनी पव्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेलले बताए । ‘ उहाँले कुनै पनि कामको जिम्मेवारी लिँदा जस्तोसुकै अवरोध र चुनौती आएपनि फत्ते गरेरै छोड्नु हुन्थ्यो ’ पोखरेलले भने , कति ठाउँमा त उहाँले आफ्नो गोजीको पैसा सापटी दिएर पनि काम पूरा गर्नु भएको छ । ’ बिर्ताबजारको दुर्गा मन्दिरको निर्माण , बिर्तामोड भद्रपुर सडकमा परेका संरचना हटाउने काममा पर्शुको अग्रसरता र दृढता प्रशंसनीय रहेको पोखरेलले स्मरण गरे । धेरै ठाउँमा सँगै वनभोज गएको घटना संझिदै उनले भने ,‘ पर्शुजीले कहिल्यै अगाडि खानु भएन , उहाँ आफै पकाएर अरुलाई खुवाइसकेपछि मात्र आफू खानु हुन्थ्यो ।’ समाजलाई मिलाएर लैजान सक्ने , अन्याय र अत्याचारको विरुद्धमा बोल्न सक्ने एकजना निश्पक्ष र निडर गुमाएको उनको बुझाइ छ ।
त्यस्तै बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष एवं नेपाली कांगे्रसका नगर सभापति भोजराज सिटौलाले हठी स्वभावका एक जना यथार्थवादी व्यक्तित्व गुमाउनु परेको धारणा राखे । नगर सभापति सिटौलाको साइनोमा काका पर्ने पर्शु नेपाली कांगे्रसका क्षेत्रीय प्रतिनिधि रहेका थिए । पर्शुको निधनले सामाजिक र राजनीतिक क्षेत्रमा ठूलो क्षति पुगेको उनको भनाइ छ ।
त्यस्तै विराट विश्राान्तिका अध्यक्ष हर्कलाल गिरीले बिर्तामोडमा न्याय मरेको प्रतिक्रिया दिए । सानो ठूलो भनेर पक्षपात नगर्ने , गलत कुरालाई गलत भन्न सक्ने , अर्काको टीकाटिप्पणी नगर्ने न्यायमूर्ति गुमाएको उनले आभास गरेका छन् । उनको निधनले आफ्नो मन र समाजभित्र निकै बेचैनी ल्याएको भन्दै गिरीले दुख व्यक्त गरे ।
दिवंगत पर्शुका श्रीमती, दुई छोरीहरु र एक छोरा छन् । उनको बिहीबार कन्काई माईमा अन्त्येष्टी गरिएको थियो । अन्त्येष्टीमा सयौंको सहभागिता रहेको थियो ।