अर्जुनधारा, माघ २५ । गोबरको खाल्डोमा डुबेर आज विहान झापाको अर्जुनधारा नगरपालिका ४ स्थित मदनपुरमा एक जना बालिकाको मृत्यु भएको छ ।

स्थानीय राज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो । घरनजिकै आमा पूजा अधिकारीसँगै खेतबारीमा खेल्दै पुगेकी ३ वर्षीया योजनाको गोबर ग्यासमा प्रयोग गरिएपछि भण्डारण गरिने गोबरको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।
अन्दाजी बिहान ९ बजेतिर प्याज रोप्न आमा बारीमा गएपछि बालिका पनि नजिकै खेल्दै थिइन् । तर, एकछिनपछि बालिका नदेखिएपछि खोजी गर्दा नजिकैको गोबरले भरिएको खाल्डोमा फेला परेकी थिइन् ।
करिब ३ फिट गहिरो खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पु¥याउन साथ चिकित्सकले बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडको एक टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने बालिकाको शव पोष्टमार्टमका लागि मेची अञ्चल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्