झापा, माघ २५ । पशुपति मावि पूर्व विद्यार्थी समाजले पूर्व प्रधानाध्यापक स्वर्गीय टेकबहादुर बरालको नवौं पुण्य स्मृतिमा फूलबारी निर्माण तथा पुष्परोपण कार्यक्रम गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं ४ स्थित पशुपति माविका पूर्व विद्यार्थीहरुले आइतबार विद्यालयमा स्व.बरालको पुण्य स्मृति तथा विद्यालयको स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेका हुन् । हरेक वर्ष पूर्व विद्यार्थी समाजले माघ २५ गतेकै दिन विविध कार्यक्रम गरी पूर्व प्रधानाध्यापकलाई सम्झिने गर्दै आएको छ । ९ वर्षअघि बरालको सडक दुर्घटनामा परी निधन भएको थियो । आफ्नो कार्यकालमा उनकै सक्रियतामा विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा अतिरिक्त क्रियाकलाप आदिमा राम्रो अवस्था रही विभिन्न क्षेत्रबाट विद्यालय पुरस्कृत समेत भएको थियो ।

शिक्षा कर्ममा मात्र नभई सामाजिक कार्यमा समेत बरालको भूमिकालाई महत्वका साथ हेरिने गरिएको छ । असल स्वभावका आफ्ना प्रअ गुमाएको कालो दिनको रुपमा पूर्व विद्यार्थीहरुले हरेक वर्ष माघ २५ गते विभिन्न गतिविधि गर्ने गरेका छन् । पूर्व विद्यार्थी समाजले अघिल्लो वर्ष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, पुरस्कार साथै सम्मानको कार्यक्रम गरेको थियो । यस वर्ष कोभिड १९ का कारण त्यस्तो नगरिएको पूर्व विद्यार्थी समाजकी अध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष स्वस्तिका आचार्यले बताईन् । पूर्व प्रअ बराल विद्यालयको शैक्षिक गुणस्तरका साथै सँधै फूलबारीमा व्यस्त रही सुन्दर बगैचा निर्माणमा खटिरहने भएकाले यस वर्ष स्व. बरालको सम्झनामा फूलबारी निर्माण गरिएको आचार्यले बताइन् ।

औपचारिक रुपमा कार्यक्रम गर्दै आगामी दिनमा स्व. बरालको शालिक निर्माण गर्ने घोषणा समेत पूर्व विद्यार्थी समाजले गरेको छ । विद्यालयको शैक्षिक गुणस्तरमा आफूहरुको चासो भएको बताउँदै पूर्व विद्यार्थीहरुले आउँदा दिनहरुमा त्यसतर्फ समेत कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पूर्व विद्यार्थी तथा सोही वडाका अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सगरमाथा टिन्स क्लबका अध्यक्ष सुदेश राई, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा पूर्व शिक्षिका एवम् स्व. बरालकी श्रीमती मेनुका बराल, प्रधानाध्यापक लक्ष्मण प्रधानलगायतले मन्तव्य राखेका थिए । पूर्व विद्यार्थी समाजका उपाध्यक्ष समिर राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव शिशिर चम्लागाईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्