भद्रपुर, माघ २६ । प्रदेश नं १ का उद्योगी व्यवसायीहरुले कोभिड १९ बाट ग्रसित निजी क्षेत्र पछिल्लो पटक राजनीतिक दलहरुबाट हुने गरेको बन्द हड्तालले धरासायी बन्दै गएको बताएका छन् ।

उद्योग संघ झापाको २६ औं साधारणसभाको अवसरमा भेलागढी सामुदायिक वनक्षेत्र हल्दीवारी २ मा सोमवार आयोजित कार्यक्रममा सहभागी उद्योगी व्यवसायी प्रतिनिधिहरुले समस्या राखेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रहेका उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले सरकारले पछिल्लोपटक उद्योगी व्यवसायीको हितविपरित गएर गरेको निर्णयप्रति निजी क्षेत्र समस्यामा परेको बताए । उनले सम्पूर्ण उद्योगी व्यवसायीलाई प्रदेश तथा स्थानीय सरकारको समन्वय र सहकार्यमा उद्योग व्यवसाय संचालन गर्न आग्रह गरे ।
ढकालले नेपालको उत्पादनलाई सार्क राष्ट्रमा समेत सहज रुपमा निर्यात गर्न आफूहरुले पहल गरिरहेको बताउँदै देशमा भैरहने अनावश्यक बन्द हड्तालले निजी क्षेत्र अघि बढ्न नसकेको धारणा राखे ।कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नेपाल सरकारको परिमार्जित नीतिलाई पालना गर्न व्यवसायीलाई आग्रह गर्दै उद्योग संचालनका लागि सुरक्षाको प्रत्याभूति प्रशासनले दिने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले प्रत्येक स्थानीय तहमा कम्तीमा एक– एकवटा उद्योग स्थापित गर्नसके समस्याको समाधान हुने बताए । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिकाभित्रका औद्योगिक क्षेत्रको समस्या समाधानका लागि नगरपालिका प्रतिबद्ध भएर लाग्ने बताउँदै वडा नं ५ मा उद्योगग्राम स्थापनाको लागि डिपीआर निर्माण कार्य पुरा भएको जानकारी दिए । उनले आगामी आर्थिक वर्षबाट निर्माण कार्य प्रारम्भ गरिने बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया , प्रदेश नं १का उपाध्यक्ष भीमवहादुर पौडेल, नेपाली कांग्रेस झापा क्षेत्र नं ३ क्षेत्रीय सभापति गणेश पोखरेल, उद्योग बाणिज्य संघ झापा अध्यक्ष नवराज पनेरुलगायतले बोल्दै राजनीतिक बन्द हड्तालसहितको खिचातानीले उद्योग व्यवसाय निर्धक्क भएर संचालन गर्न कठिन भएको समस्या सुनाए ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टिकाराज ढकालले झापामा ५५ प्रतिशत उद्योग संचालनमा रहेको बताए । उनले निजी क्षेत्रबाट उत्पादित सामान निर्यातमा सीमा नाकामा गरिने ल्याव टेष्टलगायतका विभिन्न प्रक्रियाले समस्या आएको धारणा राखे ।
उनले आफ्नो कार्यकालमा उद्योगी व्यवसायीको हितमा काम गर्न सफल भएको बताउँदै संघले गरेको गतिविधिका बारेमा प्रकाश पारेका थिए । ढकालको अध्यक्षता तथा प्रेस सल्लाहकार गोपाल गिरीको संचालनमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष यामबहादुर श्रेष्ठले गरेका थिए ।चुनावी बार्षिक साधारणसभा समेत रहेको कार्यक्रममा वनभोजको समेत आयोजना गरिएको थियो ।
सोही साधारणसभाले आगामी १५ दिनभित्रमा नयाँ कार्य समिति समेत चयन गर्ने छ । साधारणसभामा प्रदेश नं १ का उद्योगी व्यवसायी प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्