बिर्तामोड ,माघ २८ । आगो निभाउने क्रममा बिर्तामोड नगरपालिकाद्वारा संचालित दमकलका दुई फायरमेन घाइते भएका छन् ।

बिर्तामोड–७ मा गएराति आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि गएको बारुणयन्त्रमा कार्यरत २ जना कर्मचारी घाइते भएका हुन् । घाइते हुनेहरुमा बिर्तामोड ६ घर भएका संजीव मेचे र गणेश बास्की रहेका छन् ।

बिर्तामोड–७ का हरि पाण्डेको परालको कुन्युमा राति ८ बजेतिर आगलागी भएको हो । आगलागी नियन्त्रणको लागि बिर्तामोड नगरपालिकाको दमकल गएको थियो । दमकलले आगो निभाउँदै गर्दा जेसिबीले पराल पल्टाउने हुँदा आगोको मुस्लो ती फायरमेनमाथि परेको थियो ।

आगलागीमा परी मेचेको अनुहार डढेको छ । उनलाई बचाउन जाँदा बास्कीको पनि हात डढेको बारुणयन्त्र कार्यालयका नवीन मेचेले बताए ।दुवैलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको थियो । सामान्य घाइते बास्की उपचारपछि फर्किएका छन् भने मेचेको उपचार भइरहेको छ ।हिजो बिर्तामोडको तीन ठाउँमा आगलागी भएको थियो । बिर्तामोड ३ र १० मा पनि परालको कुन्युमा नै आगलागी भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्