बिर्तामोड , माघ २८ । राजवंशी महिलाहरुको क्षमता तथा संस्थागत विकाससम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार बिर्तामोडमा सम्पन्न भएको छ ।

राजवंशी महिला समाज केन्द्रीय समितिको आयोजनामा भएको तालिममा जिल्लाभरिका ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संवोधन गर्दै बिर्तामोड नगरपालिकाका उप प्रमुख पवित्रा महतारा प्रसाईले पछि परेका जाति समुदायको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले पितृसतात्मक सोचबाट बाहिर नआएसम्म महिलाहरु अगाडि बढ्न नसक्ने धारणा राखिन् ।

अध्यक्ष सनम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ झापाकी अध्यक्ष माया गुरुङले आफूहरु माग्न नजाँदा नै स्थानीय सरकारले सहयोग नगरेको बताइन् । तर, नेपाल आदिबासी जनजाति महासंघ झापाका अध्यक्ष भरत श्रेष्ठले सरकारले आदिवासी जनजातिलाई उपेक्षा गरेको गुनासो गरे । कार्यक्रममा राजवंशी समाज विकास समिति झापाकी उपाध्यक्ष नौताली राजवंशी , नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता विमली खरेललगायतले बोलेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्यहरु सुरेन राजवंशी , दौपति गणेशलगायतको उपस्थिति रहेको थियो । संस्थाकी सचिव शर्मिला राजवंशीले संचालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष रुपा राजवंशीले गरेकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्