बिर्तामोड , माघ २९ । आगामी फागुन १६ गते हुन लागेको बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि सामूहिक र आफू आफू उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघमा वर्षौदेखि विरासत जमाएको नेपाली कांगे्रसनिकट प्रजातान्त्रिक समूहका तर्फबाट सामूहिक रुपमा उम्मेद्वारी घोषणा हुनुअगावै व्यवसायी प्रतिनिधिहरुले आफूआफू उम्मेद्वारी घोषणा गर्दै भोट माग्न थालेका छन् । सामाजिक संजालमा यतिबेला आफूआफू उम्मेद्वारी दिने लहर बढेको हो । प्रजातान्त्रिक विचार भएका व्यवसायीका तर्फबाट चार जनाले अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । हालका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी , उद्योग उपाध्यक्ष राजु न्यौपाने , जनसम्पर्क उपाध्यक्ष पार्वता विमली खरेल र महासचिव प्रशान्त भण्डारी गरी चार जनाले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । त्यस्तै सोही विचारधाराका रविन्द्र भट्टराई र संजीव घिमिरेले महासचिव, राजु घिमिरेले वाणिज्य उपाध्यक्ष , दिपेन्द्र राउतले उद्योग सचिवमा उठ्ने घोषणा गरेका छन् ।

नेपाली कांगे्रसले पूर्व जिल्ला उपसभापति देउमान थेवेको संयोजकत्वमा बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेद्वार तय गर्न एक कार्यदल बनाएको छ । कार्यदलले सहमति गर्नुअगावै आफूआफू उम्मेद्वारी घोषणा हुन थालेको हो । जसबाट सबैलाई एक ठाउँमा भेला गरेर एउटै प्यानलबाट निर्वाचन लड्न कांगे्रसलाई गाह्रो परिरहेको छ । कार्यदलले दुई दिनभित्र आधिकारिक उम्मेद्वार घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ । सबैलाई समेटेर लैजान नसक्दा प्रजातान्त्रिक विचारकै दुईवटा प्यानल बन्न सक्ने एक जिल्लास्तरीय नेताले बताए । यसअघि पनि धेरे आकांक्षी हुँदा कांगे्रसको दुईवटा प्यानल चुनावमा उत्रिएको थियो । एउटाको जित भएको थियो भने अर्कोको हार ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा संयुक्त प्यानल बनाएका छन् । नेकपाले राप्रपालाई ३ जना पदाधिकारी र २ जना सदस्य दिने सहमति गरेको हो । सो प्यानलका तर्फबाट नेकपाका सुवाष भट्टराईले अध्यक्षमा उम्मेद्वारी दिने पक्का भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, महासचिवमा अर्जुन मैनाली उठ्ने भएका छन् । राप्रपाका तर्फबाट प्रकाश घिमिरे, सुर्य खतिवडा , कृष्ण पौडेल , रन्जु प्याकुरेल र गोबिन्द कार्कीको नाम सिफारिस गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघमा ४६ सयको हाराहारीमा मतदाता रहेका छन् । संघको घोषित निर्वाचन कार्यक्रम अनुसार फागुन ६ गते उम्मेद्वारी दर्ता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्