बिर्तामोड , माघ ३० । आगामी फागुन १६ गते हुन लागेको बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि मनगढन्ते रुपमा उम्मेद्वारी घोषणा नगर्न नेपाली काँग्रेसले आग्रह गरेको छ ।

प्रजातान्त्रिक विचार भएका काँग्रेस निकट व्यवसायीहरुले आफूआफू उम्मेद्वारी घोषणा गर्ने क्रम बढेपछि पार्टीले त्यस्तो आग्रह गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा उम्मेद्वार तय गर्न काँग्रेसले पूर्व जिल्ला उपसभापति देउमान थेवेको संयोजकत्वमा एक कार्यदल बनाएको थियो । सोही कार्यदलले आफूखुशी उम्मेद्वारी घोषणा नगर्न आग्रह गरेको कार्यदलका संयोजक थेबेले बताए । उनले आकांक्षीहरुले आफूखुशी सामाजिक संजालमा उम्मेद्वारी घोषणा गर्दा सहमति कायम गराउन समस्या पर्ने भएकाले त्यसो नगर्न आग्रह गरिएको जानकारी दिए । आग्रहपछि स्वघोषित केहीले सामाजिक संजालबाट आफ्नो उम्मेद्वारी हटाएको बताइएको छ । सामूहिक रुपमा उम्मेद्वारी घोषणा हुनुअगावै व्यवसायी प्रतिनिधिहरुले आफूआफू उम्मेद्वारी घोषणा गर्दै भोट माग्न थालेका थिए । प्रजातान्त्रिक विचार भएका व्यवसायीका तर्फबाट चार जनाले अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । हालका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी , उद्योग उपाध्यक्ष राजु न्यौपाने , जनसम्पर्क उपाध्यक्ष पार्वता विमली खरेल र महासचिव प्रशान्त भण्डारी गरी चार जनाले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । त्यस्तै सोही विचारधाराका राजु घिमिरेले वाणिज्य उपाध्यक्ष ,रविन्द्र भट्टराई र संजीव घिमिरेले महासचिव, , दिपेन्द्र राउतले उद्योग सचिवमा उठ्ने घोषणा गरेका छन् । कार्यदलले शुक्रबारदेखि आकांक्षीहरुको नामावली संकलन गर्न थालेको छ । सबै दावेदारहरुको नाम संकलन भइसकेपछि उम्मेद्वार तय गरिने थेबेले बताए । ‘ हामीले आजदेखि सबै आकांक्षीहरुको नाम संकलन गर्न शुरु गरेका छौं’उनले भने ,संकलन गरिसकेपछि ती नामउपर समीक्षा गर्नेछौं ।’ त्यसपछि उम्मेद्वारी दर्ताको अघिल्लो दिन फागुन ५ गते कार्यदलले घोषणासभामार्फत आधिकारिक उम्मेद्वार घोषणा गर्ने कार्यक्रम बनाएको छ । बाणिज्य संघको घोषित निर्वाचन कार्यक्रम अनुसार फागुन ६ गते उम्मेद्वारी दर्ता रहेको छ ।
थपिदै कार्यदल
वाणिज्य संघको निर्वाचनका लागि साझा उम्मेद्वार तय गर्न थेवेको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाइएको थियो । सो कार्यदल पर्याप्त र सन्तुलित नभएको गुनासो आएको छ । त्यही भएर त्यसमा सदस्य थप्ने प्रयास भइरहेको संयोजक थेबेले जानकारी दिए । अनुभवी र इच्छुक थप व्यवसायीहरुलाई कार्यदलमा अटाउन सकिने उनको भनाइ छ । थेबेले सबै आकांक्षीहरुको भावना बुझी कांगे्रसलाई एक ढिक्का बनाएर चुनावमा भाग लिने बताए । अध्यक्षका चार जना आकांक्षीहरुलाई कसरी मिलाउनु हुन्छ भन्ने प्रश्नमा उनले पहिला पनि बाणिज्य संघको चुनावमा अध्यक्षका ५ जना आकांक्षी रहेको उदाहरण प्रस्तुत गर्दै सबैलाई मिलाएर एउटै नेतृत्व बन्नेमा बिश्वास व्यक्त गरे ।
काँग्रेस एक्लै भिड्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा संयुक्त प्यानल बनाएर चुनाव लड्ने तयारी गरिरहँदा कांगे्रस भने एक्लै भिड्ने भएको छ । नेकपाले राप्रपालाई ३ जना पदाधिकारी र २ जना सदस्य दिने सहमति गरेको हो । सो प्यानलका तर्फबाट नेकपाका सुवाष भट्टराईले अध्यक्षमा उम्मेद्वारी दिने पक्का भएको छ । ‘कांगे्रसको एक्लै प्यानल हुन्छ’ थेबेले भने ,‘ अहिले सघाउने अन्य दलका साथीहरुलाई पछि मनोनयन गर्न सकिन्छ ।’
यसअघि धेरै आकांक्षी हुँदा कांगे्रसको दुईवटा प्यानल चुनावमा उत्रिएको थियो । एउटाको जित भएको थियो भने अर्कोको हार ।यसपटक पनि अध्यक्षमा पाँचजना आकांक्षी देखिँदा काँग्रेसलाई साझा उम्मेद्वार तय गर्न सकस परिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्