मेचीनगर, फागुन १ । प्रेस संगठन झापाको बिस्तारित बैठकले संगठनका केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय संगठन सुदृढीकरण तथा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

शनिबार काँकडभिट्टामा बसेको बैठकले गठन गरेको समितिले झापामा संगठन बिस्तारसँगै पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँग वार्ता, समन्वय, उम्मेद्वार चयन र सिफारिस गर्ने बताइएको छ । संगठनका झापा अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको बैठकद्वारा गठित सदस्यहरुमा दयाराम दाहाल, तीर्थ सिग्देल, तारामणि सापकोटा, भीमा शिवाकोटी, मुक्ति पौडेल र राजु अधिकारी रहेका छन् । भेलाले बिभिन्न क्षेत्रमा रहेका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै फिल्डमा कार्यरत सञ्चारकर्मीका समस्याको बिषयमा मत संकलन गर्ने निर्णय गरेको छ । सञ्चारकर्मीको पेशागत सुरक्षा तथा दक्षता अभिबृद्धिमा गर्न सक्ने कार्यहरुका बारेमा सुझाव दिन संगठनले आग्रह गरेको छ ।