झापा, फागुन १ । सरकारले छनौट गरेको देशभरका दुई सय नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा झापाका १० वटा स्थान परेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनौट गरेको सूचीमा समावेश पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनको लागत भने ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
मन्त्रालयको छनौटमा परेका गन्तव्य तथा योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको कुल लागत ६ करोड ७० लाख रुपैयाँ अनुमान गरिएकोमा मन्त्रालयबाट ४ करोड ३५ लाख रुपैयाँ छुट्याईएको छ ।
यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत २ करोड रहेकोमा १ करोड ३० लाख रुपैयाँ मन्त्रालयबाट विनियोजन हुने तय भएको छ ।
६ करोड ९० लाख रुपैयाँ कुल लागत अनुमान रहेको कन्काई नगरपालिकाको कन्काई सामुदायिक वनस्पति उद्यानका लागि मन्त्रालयबाट ४ करोड ४९ लाख रुपैयाँ , ६ करोड ७३ लाख रुपैयाँ कुल अनुमान रहेको भद्रपुरको साईन्स सिटीका लागि ४ करोड ३८ लाख रुपैयाँ मन्त्रालयबाट बिनियोजन हुने भएको छ ।
प्रस्ताव आह्वान गरी छनौट गरिएका झापाका पर्यटकीय गन्तव्यहरुमा हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्क, बाह्रदशीको साधुपर्ति झिल सिमसार, नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको केचना स्तम्भ तथा झिल, गौरीगञ्जको कोरोवारी सिमसार तथा कमल गाउँपालिकाको साधुहोली सिमसार रहेका छन् ।
यी प्रत्येक योजनाको कुल लागत ५ करोड रुपैयाँका दरले अनुमान गरिएको छ भने मन्त्रालयले ३ करोड ५० लाख रुपैयाँका दरले बिनियोजन गरेको छ । यस्तै १ करोड ५० लाख रुपैयाँ कुल लागत अनुमान रहेको दमक नगरपालिकाको ईन्द्रेणी तालका लागि ९८ लाख रुपैयाँ मन्त्रालयले छुट्याएको छ ।
झापामा छनौट गरिएका योजनाहरुको कुल लागत ४३ करोड ८३ लाख रुपैयाँ अनुमान गरिएको छ । मन्त्रालयले ३३ करोड बिनियोजन गरेको जनाएको छ भन बाँकी रकम साझेदारको रुपमा स्थानीय तहले जुटाउनु पर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्