दमक, फागुन २ । बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आज महिलाहरुले विरोध प्रदर्शन निकालेका छन् ।

मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले स्थानीय गणतन्त्र चोकमा भेला भएर महिला तथा बालिका हत्यामा संलग्नको खोजीमा सरकार उदासिन बनेको भन्दै अविलम्ब पक्राउ गर्न माग गरेको हो । बुहारीहरुले महिलामाथि हुने सवै प्रकारका हिंसा रोक्न, बलाकारका घटनामा संलग्नलाई तुरुन्त पक्राउ गर्न, कानून अनुसार कार्वाही गर्नलगायतका माग राख्दै प्लेकार्ड तथा व्यानर राखेर प्रदर्शन गरेका थिए ।

परिवार र समाजमा छोरी चेलीहरु असुरक्षित भईरहेको र अपराधमा संलग्नहरु समेत पक्राउ नपरेकाले दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरिएको आयोजक संस्थाकी झापा उपाध्यक्ष तथा दमक संयोजक जमुना निरौला अधिकारीले जानकारी दिइन । कार्यक्रममा जिल्ला संयोजक शिखा खड्का गणेश, जिल्ला उपाध्यक्ष गंगा भट्टराई र सचिव कविता थापालगायतले बोलेका थिए । तीन दिनअघि जिल्लाकै बुद्धशान्ति गाउँपालिकामा पनि नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शनका सहभागीहरूले सरकारले मुलुकमा शान्ति सुरक्षा बनाउन नसकेका कारण महिला हिंसा बढेको बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्