भद्रपुर , फागुन ३ । दुई पुस्तादेखि मूर्ति व्यवसायमा संलग्न अभिषेख मूर्ति उद्योग भद्रपुर ६ का संचालक विष्णु राजवंशीले यस वर्ष सरस्वतीको मूर्ति बिक्री गरी राम्रो आम्दानी गरेका छन् ।

सरस्वती पुजालाई लक्षित गरी उनले सानो र ठूलो गरी ११६ वटा सरस्वतीको मूर्ति बनाएका थिए । त्यसमध्ये अधिकांश मूर्ति बिक्री भइसकेको उनले बताए । ‘साना २९ वटा र ठूलो एउटा मूर्ति मात्र बाँकी छ ’उनले भने , ‘यी मूर्ति पनि बिक्री हुन लागेको छ ।’

उनले साढे ३ फुटको सानो मूर्ति २ हजार र ४ फुटको ठूलो मूर्ति ४ हजार २ सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।अन्य वर्षको तुलनामा यस वर्षको सरस्वती पुजामा उनले राम्रो कमाइ गरेका हुन् । गत वर्ष उनले ७५ वटा सरस्वतीको मूर्ति बिक्री गरेका थिए । महेशपुरको मोतियाबारीमा राजवंशी परिवारले दुई पुस्तादेखि मूर्ति बनाउने व्यवसाय गर्दै आएका छन् । राजवंशी जातिभित्र मूर्ति बनाउने खानदानी सीप र कला हुने गरेको छ । जसलाई ‘माली’ भनिन्छ । विष्णुको परिवारले पनि मालीको रुपमा मूर्ति बनाउँदै आएको हो । विष्णुका बुवा भुटुकले सानो उमेरदेखि नै मूर्तिकला गर्दै आएका थिए । सोही सीप उनका छोरा विष्णुलाई हस्तान्तरण भएको हो । विष्णुले व्यावसायिक रुपमा मूर्ति उद्योग संचालन गरेको करिव १२ वर्ष भईसक्यो । उनी माटो र सिमेन्ट दुवै प्रकारका मूर्ति बनाउने गर्छन् ।‘ मैले व्यवसायकै रुपमा यो पेशा अँगालेको हुँ’उनी भन्छन्,‘ यसबाट राम्रै आम्दानी हुने गरेको छ । ’ वर्षमा खर्च कटाएर १२ लाखजति आम्दानी हुने गरेको उनको भनाइ छ । परिवार धान्नेदेखि लिएर छोराछोरी पढाउने , बचत गर्नेसँगै सम्पति पनि उनले त्यही पेशाबाट जोडेका छन् ।

सरस्वतीको मात्र नभएर सिजन अनुसार उनी हरेक देवीदेवताको मूर्ति बनाउन खप्पिस छन् । हिन्दु धर्मका सबै देवीदेवताको मूर्ति आफूकहाँ उपलव्ध रहेको उनले बताए । पूर्वी भेगमा उनले मात्र व्यावसायिक रुपमा मूर्ति बनाउँदे आएका छन् । अरु पेशाकर्मी नभएपनि सीमावर्ती क्षेत्र भएका कारण भारतको मूर्तिका कारण आफ्नो मूर्तिको त्यति धेरै माग नभएको उनी बताउँछन् । सीमावर्ती क्षेत्र भएका कारण धेरैजना मूर्ति किन्न भारत नै जाने गरेको उनको बुझाइ छ । विदेशीभन्दा पनि स्वदेशको उत्पादनलाई प्राथमिकता दिनसके स्वदेशी सीप र कलाको संरक्षण र संवद्र्धन हुने भएकाले उनी स्वदेशकै उत्पादनमा जोड दिन आग्रह गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्