झापा , फागुन ८ । मानवीय सेवामा समर्पित रेडक्रस अभियानमा रचनात्मक सहयोग पुर्याउने संघ–संस्थालाई सम्मान र उत्कृष्ट रेडक्रस संस्थालाई पुरस्कृत गर्दै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ४७ औं जिल्लासभा सम्पन्न गरेको छ ।

झापाको भद्रपुरस्थित संस्थाको सभाहलमा आयोजित समारोहका बीच शनिबार जिल्लासभा सम्पन्न भएको हो । राष्ट्रिय रुपमै सधैं अब्बल शाखाको रुपमा रहँदै आएको झापा शाखाका सभापति लोकराज ढकालको अध्यक्षतामा आयोजित साधारणसभाको प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका थिए ।

सो अवसरमा जिल्लामा एक वर्षभरिमा सबैभन्दा बढी रक्त संकलन गर्ने संस्थालाई अवार्डसहित सम्मान गरिएको थियो भने वर्षभरि उत्कृष्ट काम गर्ने उपशाखाहरुलाई पुरस्कृत गरिएको थियो । यस वर्ष रक्तदान कार्यक्रम आयोजना गरी पहिलो हुन सफल रोटरी÷रोट्रयाक्ट क्लव अफ भद्रपुर र भद्रपुर जेसीज, दोस्रो हुने सत्य साई केन्द्र १ नं प्रदेश र तेस्रो हुने नेपाली कांग्रेस झापा गाउँ समितिलाई प्रमुख अतिथि प्रजिअ तिमिल्सिनाले अवार्डसहित सम्मान गरेका थिए भने वर्षभरि काम गरेको मूल्याङ्कनका आधारमा समान अंक ल्याई प्रथम भएका भद्रपुर र लखनपुर उपशाखालाई जनही ५ हजार, दोस्रो हुने बुद्धशान्ति र बाह्रदशी उपशाखालाई जनही ४ हजार तथा तेस्रो हुने शरणामती र बाहुनडाँगी उपशाखालाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
शाखाका मन्त्री चन्द्रप्रसाद चुडाल र उपमन्त्री विश्व थापाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा शुभकामना मन्तव्य राख्दै प्रजिअ तिमिल्सिना, सोसाइटीका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा झापा शाखाका पूर्व सभापति भक्त खवासलगायतले मानवीय सेवामा झापा रेडक्रसले गरेका कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

मन्त्री चुडालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हेम खड्काले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मनोज अग्रवालले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा जिल्ला सदस्य ओमप्रकाश गौतमले स्वागत गरेका थिए ।
रेडक्रस झापाले कोभिड–१९ को महामारीको समयमा जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनलगायत स्वास्थ्य संस्थाहरुलाई उल्लेख्य मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो भने कोभिडका कारण अप्ठ्यारोमा परेका विपन्न समुदायलाई राहत सामग्री उपलब्ध गराउनुका साथै जिल्लामा पिसीआर ल्याव स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको सभापति ढकालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्