गौरीगंज फागुन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुक चुनावमा जाने सम्भावना आंैल्याएका छन् ।

Advertisement

पार्टीको झापा क्षेत्र नं. ५ समितिद्वारा गौरीगंजमा शनिबार आयोजित वृहत मोटरसाइकल र्यालीको समापन कार्यक्रमलाई संबोधन गर्दै पार्टी अध्यक्ष थापाले केही दिनमै अदालतले चुनावको पक्षमा फैसला गर्ने बताए । उनले पार्टी नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रहसमेत गरे । नेपाली जनताले तिरेको कर र विदेशीको ऋण लिएर संघीयताको बोझलाई नेपाली जनताले धान्न नसकिने बताउँदै अध्यक्ष थापाले संवैधानिक राजासहित हिन्दुराष्ट्रको विकल्प नरहेको दावी गरे ।
‘ अब हामीले राजा आऊ देश बचाऊ भन्ने होइन’उनले भने ,‘ हामीले जनता आऊ राजा ल्याऊ, जनता आऊ हिन्दु राष्ट्र ल्याऊ भन्ने हो ।’ राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देश बचाउने उनले बताए । २००७ सालमा राजा र जनता मिलेर प्रजातन्त्र ल्याएको स्मरण गराउँदै पार्टी अध्यक्ष थापाले राजा र जनताको साझा प्रयासबाट देश बचाउने र बनाउने काम गर्नुेपर्ने भनाइ राखे ।

राजालाई वनवास पठाएर हिन्दुराष्ट्रलाई खारेज गर्दा भोग्नु परेको भोगाइबाट पाठ सिकेर अव नेपाली परिवेशमा सबै अटाउने मौलिक प्रजातन्त्र विकास गर्न उनले आग्रह गरे ।
राजसंस्था र हिन्दुराष्ट्रलाई समाप्त पार्दा प्रजातन्त्रको लागि कहिल्यै लड्नु नपर्ने बताएका प्रचण्डलगायतका नेताहरु अहिले सडकमा रहेको देख्दा दया लागेको थापाले टिप्पणी गरे । नेकपाभित्रको झगडाका कारण प्रतिनिधिसभाको विघटन गर्न नहुने बताउँदै अध्यक्ष थापाले गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आलोचना गरे ।
पार्टीका झापा क्षेत्र नं. ५ का क्षेत्रीय अध्यक्ष विजय बरालको अध्यक्षतामा भएको मोटरसाइकल र्यालीको समापन सभामा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन,पार्टीका केन्द्रीय सदस्य टेकनारायण राजवंशी, प्रदेश नं.१ का संयोजक राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्टलगायतले बोलेका थिए । जिल्ला सदस्य तथा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्