बिर्तामोड, फागुन १० । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिर्तामोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका राजवंशी समुदायका व्यवसायीहरु संगठित भएका छन् ।

Advertisement

उनीहरुले फागुन १६ गतेको बाणिज्य संघको निर्वाचनका विषयमा सोमबार बिर्तामोडमा अन्तक्र्रियात्मक कार्यक्रम गरेका छन् ।

बिर्तामोड नगरपालिकाभित्र राजवंशी समुदायबाट ५ सयभन्दा बढीले व्यापार व्यवसाय गर्ने गरेको अन्तक्र्रिया कार्यक्रममा बताइयो । उनीहरुमध्ये बाणिज्य संघको निर्वाचनका लागि राजवंशी समुदायबाट १ सय १८ जना मतदाता रहेका छन् । अन्तक्र्रिया कार्यक्रममा बोल्ने व्यवसायीहरुले बाणिज्य संघको चुनावमा संयुक्त व्यवसायी प्यानल र व्यवसायीहरुको लोकतान्त्रिक समूह दुवै प्यानलबाट राजवंशी समुदायबाट एक जना पनि उम्मेद्वार नबनाउनु बिडम्बना भएको बताए । उनीहरुले राजवंशी व्यवसायीलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरेको भन्दै आपत्ति जनाए ।
प्रेम होटलका सञ्चालक सुरेन राजवंशीले १ सय १८ जना मतदाता रहेको बिर्तामोड बाणिज्य संघको चुनावमा राजवंशी उम्मेद्वार शून्य हुनु दुखद् भएको बताए । उनले बर्षौदेखि र सयौंको संख्यामा राजवंशी समुदाय पनि व्यापार व्यवसायमा सक्रिय रहेकाले सबैलाई समेटेर जान बाणिज्य संघका दुवै चुनावी प्यानललाई आग्रह गरे । पुरन–हिरालता सपिङ मलका सञ्चालक गोपालचन्द्र राजवंशीले राजवंशी समुदायको प्रतिनिधि बिना बाणिज्य संघको नयाँ कार्यसमिति अपुरो हुने धारणा राखे । उनले नवनिर्वाचित समितिलाई कम्तीमा एक जना राजवंशी सदस्य मनोनित गर्न आग्रह गरे ।
न्यू लाईफ स्टाइलका सञ्चालक प्रमोद राजवंशीले बाणिज्य संघको चुनाव पनि राजवंशी समुदायका लागि ‘भोट बैंक’ मात्र भएको धारणा राखे । उनले ५० जना मतदाता हुने संगठनहरुले उम्मेद्वार पाएको तर, राजवंशी समुदायको १ सय १८ जना मतदाता हुँदा समेत एक जना उम्मेद्वार नपाउनु गम्भीर विषय भएको बताए । रोहन चश्मा घरका सञ्चालक राजन राजवंशीले बाणिज्य संघको नवनिर्वाचित कार्यसमितिमा राजवंशी सदस्य मनोनित गराउन सक्रिय पहल गर्न समुदायका अगुवाहरुलाई आग्रह गरे ।

अन्तक्र्रियामा सहभागीहरुले सोमबार नै ‘राजवंशी व्यवसायी संघ’ समेत गठन गरेका छन् । प्रेम होटलका सञ्चालक सुरेन राजवंशी अध्यक्ष रहेको संघको उपाध्यक्षमा गोपालचन्द्र राजवंशी, सचिवमा अर्जुन राजवंशी, कोषाध्यक्षमा चन्द्रमाया राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजन राजवंशी, बासुदेव राजवंशी, कमल राजवंशी, मोहनसिंह राजवंशी, दिलिप राजवंशी, लालसिंह राजवंशी र धर्मेश राजवंशी चयन भएका छन् । सहभागीहरुले बाणिज्य संघको निर्वाचनमा बढीभन्दा बढी राजवंशी मतदाता एवं व्यवसायीहरुको सहभागिता गराउनेगरी गतिविधि अघि बढाउन जोड दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्