बिर्तामोड , फागुन १२ । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले समयमा विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिएको छ ।

वितरण केन्द्रले धेरै महिनासम्म महशुल नबुझाउने ग्राहकको नियमित रुपमा लाइन काट्ने क्रमलाई निरन्तरता दिएको जनाएको छ । यस वर्षको साउनदेखि फागुन ८ गतेसम्म ३१२ जना ग्राहकको लाइन काटिएको हो । जसबाट ९६ लाख ३९ हजार ३२९ रुपैयाँ असुली भएको छ । त्यस्तै कालो सूचीमा परेका ४ जना ग्राहकहरुबाट २४ लाख ९४ हजार १९३ रुपैयाँ असुली भएको वितरण केन्द्रले जनाएको छ । कोरोना महामारीका कारण लगाइएको लकडाउनले गर्दा विद्युत महशुल तिर्न धेरै समय दिँदासमेत नतिर्ने ग्राहकहरुको लाइन काटिएको वितरण केन्द्रका प्रमुख वीरेन्द्रकुमार झाले बताए । उनले विद्युत महशुल नतिर्ने धेरै ग्राहकहरुलाई कालो सूचीमा राखिएको बताउँदै कालो सूचीमा परेका अन्य ग्राहकहरुबाट पनि बक्यौता महशुल उठाउने प्रयास भइरहेको जानकारी दिए । त्यस्तै मिटरबाट विद्युत चोरी गर्ने ४५ जना ग्राहक कार्वाहीमा परेका छन् । उनीहरुबाट ४ लाख ८८ हजार ७६६ रुपैयाँ असुली भएको छ ।

त्यसैगरी नियमित रुपमा मिटर निरीक्षण भइरहेको केन्द्र प्रमुख झाले जानकारी दिए । नेपाल विद्युत प्राधिकरण , कर्मचारी क्वाटर र निवासमा २१ , सिंगल फेज ग्राहक १२९८ , थ्री फेज ग्राहक २३० जनाको मिटर निरीक्षण गरिएको उनले बताए । त्यसैगरी हुकिङ्ग नियन्त्रण र कार्वाही पनि गरिएको जनाइएको छ । हुकिङ्ग नियन्त्रणका लागि प्रचारप्रसार, टोली परिचालन गरी हुकिङ्ग गर्नेहरुबाट ३ हजार ८४० रुपैयाँ जरिवाना असुल गरिएको छ । त्यसक्रममा एकजनाको उपकरण समातिएको थियो भने एकजनाको हुकिङ्ग थुतिएको थियो । करिव ८ महिनाको अवधिमा कार्यालयले औसत विल मूल्यांकन असुलीतर्फ २४३ संख्या, १ लाख ५० हजार ६०५ युनिटबाट १० लाख ६३ हजार ४२२ रुपैयाँ असुली गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्