सपना आचार्य,
माई , फागुन १३ । इलामको माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको वौद्धिक तथा शारीरिक विकासका लागि यही फागुन २१ देखि फागुन २९ गतेसम्म वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको युवा संघका इलाम जिल्ला कार्यालय सदस्य तथा माई नगर संयोजक कुमार लिम्बुले जानकारी दिए ।
कुल ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा पुरुष फुटवल बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता टीमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र र उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका भीम तामाङले जानकारी दिए ।
शहीदहरुले सहादत प्राप्त गरेको सुखानीको संझनामा माईका वडास्तरीय टीमहरुको सहभागितामा शहीद सप्ताहअन्तर्गत पुरुष र महिला फुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । शहिद रामनाथ दहाल, कृष्ण कुईकेल,नेत्र घिमिरे, नारायण श्रेष्ठ र बीरेन रानबंंशीले सहादत प्राप्त गरेको ऐतिहासिकस्थल सुखानीको संझनामा माई–४ कै शुक्रबारे खेल मैदानमा फुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाइएको छ ।
माई–४ को सुखानीमा २०३१ साल फागुन २१ गते पञ्चायती शासकहरुले झापाबाट इलाम जेल सार्ने बहानामा ५ जना शहीदहरुको हत्या गरेको थियो । फागुन२१ गते हुने उद्घाटन कार्यक्रममा हास्य कलाकार राजा रामलगायतको प्रस्तुतिसहित बिभिन्न जातजातिका झाकी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।