बिर्तामोड, फागुन १५ । ताप्लेजुङ झापाबासीहरुका छाता संगठन ताप्लेजुङ झापा सरोकार समाजले संस्थाको दीर्घकालीन जग बलियो बनाउन र दैवी तथा जटिल स्वास्थ्य समस्यामा परेका ताप्लेजुङ झापाबासीलाई सहयोग गर्ने उद्देश्यले अक्षयकोषमा एकैदिन ३ लाख बढी रुपैयाँ जुटाएको छ ।

संस्थाले स्थापना गरेको कोषमा शनिबार एकैदिन ३ लाख ४७ हजार २ सय ११ रुपैयाँ सहयोग जुटेको संस्थाका कोषाध्यक्ष पदमबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेले २ लाख, उपाध्यक्ष ज्ञानुराम प्रसाईले १ लाख, व्यवसायी कुलप्रसाद खरेलले २१ हजार १ सय ११ र खगेन्द्र काष्ठ फर्निचर उद्योगका प्रोप्राइटर खगेन्द्र खरेलले २१ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका छन् भने लक्ष्मी अधिकारीेले कोषका लागि ५ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका छन् । संस्थाले आयोजना गरेको साधारणसभा तथा बनभोज कार्यक्रममा अध्यक्ष काफ्लेलाई अधिकारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
संस्थाले १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर कोषको स्थापना गरी सहयोग संकलन कार्य अघि बढाएको सहसचिव डिआर कडरियाले जानकारी दिए ।

यसैबीच ताप्लेजुङ झापा सरोकार समाजको तेस्रो साधारणसभा तथा बनभोज कार्यक्रम झापाको जामुनखाडीमा सम्पन्न भएको छ ।
वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्रसाईले जन्म र कर्मथलोको भावनात्मक साइनो जोडिएको संस्थाले मानवीय सेवाका क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आफूले पनि यथासंभव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाई, कांगे्रस नेता देउमान थेवे, नेकपाका देवराज घिमिरे, बरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव रेजिना गौतमद्वारा प्रस्तुत भावी योजनासहितको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष पदमबहादुर तामाङद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो
हरि सिटौलाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानुराम प्रसाईले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रममा ताप्लेजुङवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्