दमक,फागुन १९ । जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समायोजन सहजीकरण कार्यदलले एकपक्षीय रुपमा जिल्ला पार्टी समायोजन गरेको भन्दैं त्यस पार्टीका जिल्ला नेतृत्वले आपत्ति जनाएका छन् ।

गत फागुन १७ गते त्यस कार्यदलले पार्टी समायोजन टुङग्याएको भनी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको थियो ।
कार्यदलको निर्णयलगत्तै पार्टी जिल्ला समितिका अध्यक्ष दिपेनवाला राईसहितका जिल्ला पदाधिकारीहरुले कार्यदलले पार्टी समायोजन कार्यदलले पार्टीले तोकेको स्पष्ट निर्देशिकाविपरीत तथा तत्कालीन समाजवादी पार्टी जिल्ला समन्वय समितिसंग समन्वय नै नगरी सहमति भएको भनी सार्वजनिक गरिएकोप्रति आपत्ति जनाउदैं त्यस्ता गतिविधि पार्टी एकता विरोधी भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा पार्टीका उपाध्यक्षद्धय वीरवहादुर श्रेष्ठ,शिवन सोराली मगर,सचिव पुष्पप्रसाद पौडेल,सहसचिव अर्जुनकुमार राई र कोषाध्यक्ष राजु खड्काको हस्ताक्षर छ ।
उनीहरुले समायोजन गरिएको विवरण कपोकल्पित भएको र त्यस्तो भ्रममा नपर्न आम पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरिएको विज्ञप्तिमा जनाईएको छ । कार्यदलको निर्णयको पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङलगायतका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा नै असन्तुष्ट पोखेका छन् ।