बिर्तामोड , फागुन २३ । जमाना डिजिटलको हो । त्यही भएर यतिबेला आर्थिक कारोवार गर्ने बैंकहरु मात्र नभएर सहकारी संस्थाहरु पनि डिजिटलाइज हुन थालेका छन् ।

अधिकांश सहकारी संस्थाहरुले मेनुअली प्रणाली छोडिसकेका छन् । बैंकहरुजस्तो आफ्नै छुट्टै सफ्टवेयर निर्माण गरी चलाउन नसकिरहेका सहकारी संस्थाहरुलाई विभिन्न सफ्टवेयर कम्पनीले क्लाउड कम्प्युटिङमा जोडेर सेवा प्रवाह गर्दै आएका छन् । यसरी सेवा प्रवाह गर्ने कार्यमा प्रिमियम टेक्नोलोजीज प्रालिले आफूलाई अग्रस्थानमा राखेको छ । झापा हल्दीवारीका मोहन वनले सुनिल शाक्य र धु्रव अधिकारीसँग मिलेर २०७२ सालमा सो कम्पनी स्थापना गरेका थिए । काठमाडौंको तीनकुनेमा कार्यालय खोलेका उनीहरुले देशभरिका साढे तीन सयजति सहकारी संस्थाहरुलाई सेवा दिइसकेका छन् । त्यसमध्ये झापाका ५० वटा सहकारीहरुले त्यस कम्पनीको सफ्टवेयर चलाइरहेका छन् । शिखर , नयाँ मिलन , सतासी , सूर्यदर्शन , देवदर्शन , स्वर्णलक्ष्मी , हाम्रो नेपाल , पूर्वी नेपाल , मेचीनगर , पूर्वी गृह , समृद्धिजस्ता जिल्लाका सहकारीहरुमा प्रिमियम टेक्नोलोजीजकै सफ्टवेयर छ । आफूहरुले देशका २५ वटा जिल्लामा सेवा दिइरहेको कम्पनी संचालक वनले बताए । क्लाउड कम्प्युटिङमा ग्राहकले कम खर्चमा धेरै सुविधा प्राप्त गर्न सक्ने उनले बताए ।

प्रिमियम टेक्नोलोजीज प्रालिले कोर बैंकिङ सोलुसन , एसएमएस इमेल, कलेक्टर एप, मोबाइल बैंकिङ, कार्डलेस एटीएम ,डिजिटल वालेटजस्ता सफ्टवेयर निर्माण गरी सेवा प्रदान गरिरहेको अर्का संचालक सुनिल शाक्यले बताए । उनले आफ्नो कम्पनीले संख्यात्मकभन्दा गुणात्मक रुपमा सेवा दिइरहेको जानकारी दिए ।
आइटी क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै नयाँ चुनौतीहरु पनि थपिएका छन् । क्लाउड कम्प्युटिङ प्रणालीको सेवा सहकारीहरुले लिइरहँदा कतिपय कम्पनीहरुले छोड्ने बेलामा सहकारीहरुको डाटा र व्याकअप नदिने गरेका छन् । शुरुमा सस्तोमा काम गरिदिने , मर्मत नगर्ने र सहकारीले छोड्न खोजेको बेलामा दुख दिने प्रवृति देखिन थालेको वनले बताए । एकपछि अर्को गर्दै खुलेका सफ्टवेयर कम्पनीको नियमनको खाँचो भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्