बिर्तामोड , फागुन २३ । बिर्तामोड नगरपालिकाभित्रका विद्यालयहरुमा बाल क्लब गठन शुरु भएको छ ।
नगरपालिकाभित्र रहेका ७५ वटा सामुदायिक र संस्थागत विद्यालयमा बालबालिकालाई संगठित गराई नेतृत्व विकास गराउने उद्धेश्यले बाल क्लब गठन शुरु गरिएको नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताए । यसक्रममा बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक बिद्यालयमा एक कार्यक्रमकाबीच बाल क्लव गठन भएको छ । बाल क्लवका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराईएको छ । कार्यक्रममा शिक्षा अधिकृत जानुका रेग्मी, विद्यालयका प्रधानाध्यापक तथा क्लबका संरक्षक यदुनाथ अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा संरक्षक अधिकारीले क्लबलाई ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उपाध्यक्ष सोमी थापाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले नगरपालिकाले बालबालिकालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । सक्षम पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको संचालन सहजकर्ता सरोज पौडेलले गरेका थिए ।