बिर्तामोड , चैत १ । झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको फाइनल खेलमा दमक नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका उपाधि जित्न सफल भएको हो । उपाधि बिजेता शिवसताक्षीले ५१ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । उपविजेता दमकले ३१ हजार नगद पुरस्कार पाएको छ ।
पहिलो हाफको दशौं मिनेटमा शिवसताक्षीका उमेश दाहालले एक गोल गरेर दमक नगरपालिकालाई १–० गोलले पछि पारेका थिए । १–० गोलअन्तरले अगाडि बढेको शिवसताक्षी नगरपालिकाले दोस्रो हाफको ४० औं मिनेटमा कञ्चन मल्लिकको थप १ गोलको मद्धतबाट नतिजा दोब्बर बनायो । खेलको ५५ औं मिनेटमा दमकका विकी केशरीले सान्त्वना गोल फर्काएका थिए । विजेता तथा उपविजेता टीमलाई बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले पुरस्कार प्रदान गरे । त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज , हाइस्कोरर र फाइनल खेलको म्यान अफ द म्याच पनि शिवसताक्षीकै खेलाडीहरु घोषित भए । उनीहरुलाई जनही नगद ३ हजार र ट्रफी उपप्रमुख पवित्रा महतारा प्रसाईले प्रदान गरिन् । समापन कार्यक्रममा विजेता शिवसताक्षीका नगर प्रमुख चन्द्रकुमार शेर्मा र उपविजेता दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बिर्तामोड नगपालिकाको आयोजनामा गएको फागुन २२ गतेदेखि शुरु भएको अन्तरपालिका कर्मचारीस्तरीय नकआउट फुटबल प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता थियो । अब आगामी वर्ष शिवसताक्षी नगरपालिकाले प्रतियोगिता आयोजना गर्नेछ ।उपाधि विजेता पालिकाले प्रतियोगिता आयोजना गर्नुपर्ने नियम रहेको छ । दमक नगरपालिकाले पहिलो प्रतियोगिता आयोजना गरेको थियो ।त्यस वर्ष कनकाई नगरपालिकाले उपाधि जितेपछि अर्को वर्ष प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा भद्रपुर नगरपालिका विजेता बनेको थियो । भद्रपुरले आयोजना गरेको प्रतियोगितामा बिर्तामोड नगरपालिका विजयी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्