दमक,चैत ९ । दमकमा कृषकहरुले सहज रुपमा मल पाउन सकेका छैनन् । स्थानीय सरकारले मल आयात र बिक्रीमा सीमित सहकारी संस्थालाई मात्र गर्न पाउने अनुमति दिएपछि यहाँका कृषकहरु सहजै मल पाउनबाट बञ्चित भएका हुन् ।


स्थानीय सरकारले कृषि मल विक्रीमा दमकका आधा दर्जन सहकारी संस्थालाई करिव ६ महिनाअघि बिक्री अनुमति दिएपछि मलको सहज आपूर्तिमा समस्या आएको कृषकहरुको बुझाई छ ।
कृषि मल तथा अन्य आवश्यक कच्चा सामग्रीहरु बेच्दै आएका कृषि भण्डारले यसअघि सरकारमार्फत उपलव्ध हुने मल बिक्री गर्दै आएका थिए । मापदण्ड पुगेका मल बिक्रेता भण्डारलाई समेत बिक्री अनुमति नदिँदा समस्या आएको दमक– ६ स्थित श्रेखरा कृषि भण्डारका सञ्चालक पदम बुढाथोकीले बताए ।
मल पाउन स्थानीय सरकारले नजिकका सहकारीलाई मात्र बिक्री अनुमति दिएपछि त्यस्तो समस्या देखिएको व्यवसायीको भनाई छ । दमक– ६ कै बबिन कृषि भण्डारका सञ्चालक बसन्त न्यौपानेले पनि सरकारमार्फत अनुदानमा आउने मल बिक्री वितरणमा एग्रोभेटलाई बेच्न नदिँदा किसानहरुले समस्या झेल्नु परेको बताए । किसानलाई सहज रुपमा मल उपलव्ध गराउन स्थानीय सरकारले चासो नदिँदा त्यसको प्रत्यक्ष मार किसानले भोग्नुपरेको उनको भनाई छ । उनले भने, –‘ किसानहरु मल खोज्दै हामीकहाँ आउँछन्, तर त्यस्तो मल बिक्री गर्न नदिँदा दुख पाउँदै आएका छन् । ’उनका अनुसार अनुदानमा आउने मल एग्रोभेटमा नपाउँदा यहाँका किसानहरु मारमा परेका छन् ।
किसानहरुका लागि गुणस्तरीय मल आयात र बिक्री वितरणको जिम्मा पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले स्थानीय तहसंग समन्वय गरी बिक्री वितरण गर्न थालेको हो । तर दमकबाहेक अन्यत्र स्थानीय एग्रोभेटलाई नै ती मल बिक्री वितरण गर्दै आएको छ । कम्पनीसहित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी अनुदानमार्फत यूरिया,डिएपी,पोटासलगायतका मल आयात गर्दै आएको छ ।
बार्षिक १३ अर्व बरावरको मल कारोवार
देशमा मल कारखाना नहुँदा नेपालले वार्षिक करिव ६ अर्वको मल आयात गर्दै आएको छ । वार्षिक करिब १३ अर्ब मूल्य बराबरको मल कारोबार हुने गरेको छ ।
सबै प्रकारका मल सिंगापुर, भारत, बंगलादेश, कोरिया, जापानलगायतका मुलुकबाट आयात हुने गरेको छ ।कर्पोरेसनले पनि पछिल्लो केही वर्षदेखि मल आयात गरी बिक्री गर्दै आएको छ । कृषि विकास मन्त्रालयले मलका लागि वार्षिक पाँच अर्बदेखि ६ अर्ब रुपैयाँ अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्