धुलाबारी, चैत ९ । झापाको धुलाबारीमा जारी चौथौ प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक रोलिङ्ग क्लब धुलाबारी र रेड हर्स इलाम भिड्ने भएका छन् ।

सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा आयोजक रोलिङ्ग क्लबले सशस्त्र प्रहरी बल पकलीलाई ५‐२ गोल अन्तरले पराजित गरेसंगैै आयोजकले रेड हर्ससंगको भेट पक्का गरेको हो ।
रोलिङ्गका लागि अजय राजवंशीले खेलको पहिलो हाफको २५ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । आयोजककै लागि पहिलो हाफको ४७ औं मिनेटमा तिर्थ बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५१ औं मिनेटमा विदेशी खेलाडी पेपेले टिमका लागि तेस्रो गोल गर्दै अग्रता ३‐० को कायम गरे । टिमका लागि पहिलो गोल गरेका राजवंशीले ६१ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा टिमले अग्रता ४‐० पुर्यायो । आयोजक रोलिङ्गका लागि अन्तिम तथा पाँचौं गोल विदेशी खेलाडी फोफोनाले ६४ औं मिनेटमा गर्न सफल भए ।
पकलीका लागि दुबै गोल समिर राईले गरे । राईले दोस्रो हाफको ७२ औं र ९० औं मिनेटमा गोल गर्दै विपक्षी टिमलाई अग्रता घटाएर २‐५ को अवस्थामा ल्याए ।
सोमबारको खेलमा २ गोल गरेका अजय राजवंशीले म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनल खेलमा कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङ र चारआली धाइजन फुटबल क्लबबीच खेल हुने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ । धुलाबारी माविको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल चैत १४ गते हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्