सुयोग खरेल दमक जेसीज वर्ष २०२१ का अध्यक्ष हुन् । युवा व्यवसायी खरेल जेसीजसंगै विभिन्न सामाजिक क्षेत्रमा संलग्न छन् ।
आफनो कार्यकाललाई दमक जेसीजकै इतिहासमा नयाँपन दिने दृढता छ उनको । जेसीजलाई संस्थागतसंगै समुदायकेन्द्रीत गतिविधिहरुमा जोड दिने उनको योजना छ । त्यसैअनुसार उनले विभिन्न कार्यक्रमलाई तीव्रता दिएका छन् ।
बुवा तुलसीप्रसाद खरेल ,आमा सुष्मा वस्तीका सुपुत्र ३६ बर्षिय खरेलले वाणिज्य शास्त्रमा स्नातक गरेका छन् । भेटेरिनरी व्यवसाय गर्दै आएका उनी जेसीजको विभिन्न राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गरेर जेसीज अभियानमा जुट्दै आएका छन् ।
भेटेरिनेरी संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका उनले इण्डोनेसिया , थाइल्याण्ड , सिंगापुर, संयुक्त अरब इमिरेट्स , चिन,भुटान, मलेसियालगायतका देशहरुको भ्रमण गरिसकेका छन् । उनी दमककै एक पुरानो भेटेरिनरी औषधिको थोक विक्रेता हुन् । खरेल भेटेरिनरी स्टोर्स सञ्चालन गर्दैआएका उनी जेसीजबाहेक लायन्स क्लव ,किवानीज क्लवको संस्थापक सदस्य , जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका आजीवन सदस्यमा आवद्ध भई समाजमा योगदान दिँदै आएका छन् ।


प्रस्तुत छ , उनै अध्यक्ष खरेलसंग जेसीजको सेरोफेरोमा गरिएको कुराकानी ः

जेसीज कस्तो संस्था हो , यसले के गर्दै आएको छ ?
जेसीज युवा उद्दमीहरुको विश्वव्यापी सङ्गठन हो । यसले नेतृत्व , व्यक्तित्व विकाससँगै समाज र उद्यमशीलताको क्षेत्रमा रहेका सम्भावना र अवसरको खोजी गर्दै त्यसमाथि छलफल ,तालिम,गोष्ठीलगायतका माध्यमबाट सिक्ने सिकाउने कार्य गर्दछ ।
दमक जेसीजको अवस्था बताईदिनुस् न ?
४० वर्षको इतिहास भएको संस्थाले यस क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सामाजिक राजनीतिक र उद्यमशीलताको क्षेत्रमा नेतृत्वको लागि अवसर जुटाएको छ । आफैमा राष्ट्रिय नेतृत्वप्राप्त गरिसकेको छ । आबद्ध सदस्यहरुलाई विभिन्न तालिम र अवसरको मौका दिएको छ । समाजमा सहज र फरक तरिकाबाट पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदाहरणहरु प्रस्तुत गरेको छ । सामाजिक, व्यावसायिक, साहित्यिकलगायतका व्यक्तित्वलाई आममानिससंग जोड्ने कार्य गर्ने गरेको छ ।
४० बर्षमुनि युवाहरुको नेतृत्वदायी संस्थामा किन धेरै युवाहरु समेट्न सकिएको छैन ?
नेतृत्वको लागि इच्छुक र संस्थामा आबद्ध हुन चाहने सबैलाई खुल्ला नै छ,यस संस्थाले संख्यालाई भन्दा गुणस्तर र प्रभावकारीतालाई प्राथमिकतामा राखेको हुनाले सबै सदस्य भएर मात्र उद्धेश्यहरु प्राप्त गर्न सहज हुनेभन्दा आबद्ध भएकाहरुबाट नै सबैसंग जोडिने अवसर पनि सृजना गर्ने हुनाले धेरै सदस्य संख्या हुनु जरुरी देख्दिनँ ।
संस्थागत गतिविधिमा यस संस्था बढी खर्चिलो हुन्छ रे हो ?
त्यसो होइन, जेसीजको बुझाई कम भएको जस्तो लाग्छ । हरेक कार्यक्रमहरु समय व्यवस्थापन र कार्यक्रमको उद्देश्य अनुरुपका मूल विषयवस्तुलाई समेटेर कसरी प्रभावकारी हुन सक्छ भन्ने पूर्वतयारी तथा छलफल गरी संस्थाको सामूहिक भावनाले कार्यक्रमहरु गरिन्छन,कार्यक्रम गर्दा श्रोत र साधनको उचित प्रयोग र अधिकतम उपलब्धि हासिल हुनेगरी गरिने भएकाले पनि केहि खर्चिलो देखिएझैं लागेता पनि हाम्रा अन्य संघसंस्थाहरुभन्दा पनि कम खर्चमा कार्यक्रम हुने गरेका र भएका छन् । यसमा कार्यक्रमपश्चात कार्यक्रमहरुको समीक्षा समेत हुने गरेको छ । र यो संस्थामा आबद्ध हुँदा प्रत्येक सदस्यले वार्षिक शुल्कवापत रु १५०० मात्र बुझाइ सबै कार्यक्रममा सहभागी हुने गरेका छन् , तर विशेष कार्यक्रमहरुमा सामूहिक रूपमा योगदान पुर्याउने गरिएको छ ।

दमक जेसीजको एकबर्षे नेतृत्व गर्दै आउनुभएको छ , एक बर्षमा के गर्ने योजना छ ?
सानो प्रयासले पनि ठूलो कार्य गर्नका लागि प्रेरणा दिन्छ भन्ने सोचले मेरो यो वर्षको प्रकरण प्रेरणादायी परिवर्तन रहेको छ र हाम्रा हरेक अभियानले कुनै न कुनै रूपमा परिवर्तनका लागि सकारात्मक रूपले प्रेरित गरिरहेका हुन्छन्।् । जस्तै निजी विद्यालयहरुमा सेनेटरी प्याड वितरण, झट्ट हेर्दा यो कार्यक्रम सामान्य सेनेटरी प्याड वितरण मात्र देखियो होला । तर छात्राहरुको मासिक धर्म ( महिनावारी मा विद्यालय छुट्ने छुटाउने असहज तथा लज्जाको अवस्था अनि स्वास्थ्य र सरसफाईको कुरा अनि सामाजिक क्षेत्रमा लुकाउने कुरालाई सहज रूपमा लिँदै यसको प्रयोगमार्फत संदेशमुलक कार्यक्रम हो । यसरी नै समाजमा सांकेतिक रूपमा हरेक कार्यक्रमहरु गर्दै रहेको र गर्दै जाने कुरा जानकारी गराउन चाहन्छु । र कार्यक्रमहरुको विस्तृत विवरण हाम्रो वार्षिक कार्ययोजनाअन्तर्गत नै रहेका छन् भन्ने जानकारी गराउँछु ।
ती सवै योजना पूरा गर्न सकिएला त ?
जेसीजले समय व्यवस्थापनको बारेमा सिकेको अनुसार हाम्रा कार्ययोजनामा भएका कार्यक्रमहरु समय र परिस्थितिअनुसार सबै पूरा हुने छन् ।
अन्त्यमा केहि भन्नु छ ?
धेरै कुरा छन् । तर पनि , मैले एक दशक लामो जेसीज अभियानको अनुभवलाई हरेक कार्यक्रमहरु मार्फत सकारात्मक परिवर्तनको उत्प्रेरणासहित वार्षिक कार्ययोजनालाई बोर्ड र दमक जेसीज परिवारको सल्लाह अनि साथ र सहयोग जुटाएर नै पूरा गर्ने छौं भन्ने लागेको छ । साथै यी हाम्रा हरेक कार्यक्रमहरुमा तपाईं लगायत सम्पूर्ण व्यक्तिहरुले नजिकबाट नियालेर उपस्थिति जनाई सकारात्मक राय सुझाव दिन पनि अपेक्षा समेत गर्दछु ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्