बिर्तामोड , चैत १४ । चेतनाका हिसाबले पछि परेका बिर्तामोड ३ र १० का मुसहर महिलाहरुलाई स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउन र लियो क्लब बिर्तामोड लेडीले संयुक्त रुपमा कार्यक्रम गरी मुसहर महिलाहरुलाई महिनावारी स्वास्थ्यका बारेमा जानकारी दिएका हुन् । बिर्तामोड ३ स्थित मुसहर वस्तीमा उनीहरुले शनिबार कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा कन्काई हस्पिटलकी नर्स अस्मिता कठैत र रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष प्रकृति न्यौपानेले महिनावारी के हो ,महिनावारी कुन उमेरदेखि कति कति दिनमा हुन्छ , महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरुलगायतका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रमको उद्घाटन बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले गरेका थिए । रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य गीता घिमिरे पोखरेल , वडा सदस्यहरु भक्तसिंह राजवंशी , दिपिका सिवालगायतले बोलेका थिए । कार्यक्रमको संचालन लियो क्लब बिर्तामोड लेडीकी महासचिव बबिता भट्टराईले गरेकी थिइन् ।कार्यक्रममा पुनर्पयोग हुने ३५ वटा कपडाका सेनेटरी प्याड वितरण गरिएको थियो । यसअघि रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकामा त्यस किसिमको सचेतना कार्यक्रम गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्