बिर्तामोड, चैत १५ । बिर्तामोड ६ स्थित देवी क्याम्पसको नाम परिवर्तन गरिएको छ ।

जग्गादाता राजेन्द्र थापाका मातापिता इन्दप्रसाद थापा र चन्द्रमाया थापाको नामबाट सो क्याम्पसको नाम इन्द्र चन्द्र क्याम्पस राखिएको हो । शनिबार आयोजित आठौं क्याम्पस सभाले क्याम्पसको नाम परिवर्तन गरेको हो । दाता राजेन्द्र थापाले आफ्ना मातापिताको नाममा २ करोड मूल्य पर्ने दुई कठ्ठा ५ धुर जग्गा निशुल्क प्रदान गरेका हुन् । क्याम्पसले ३ कठ्ठा ९ धुर जग्गा खरिद गरेको थियो । दुई कठ्ठा ५ धुर जग्गा निशुल्क पाएपछि अब ५ कठ्ठा १४ धुर जग्गा भएको छ । क्याम्पसको चारतले भवन छ भने अर्को भवन पनि निर्माण हुँदैछ । यसैबीच क्याम्पस सभाबाट संचालक समितिको अध्यक्षमा पुनः हरिचरण शिवाकोटी चयन भएका छन् । जसको उपाध्यक्षमा राजेन्द्र थापा , कोषाध्यक्ष युवराज दाहाल तथा सदस्यहरुमा ज्ञानुराम प्रसाई , अरुण श्रेष्ठ र अर्जुन खवास रहेका छन् । समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख लेखनाथ भट्टराईलाई राखिएको छ । त्यस्तै लेखा समितिमा कंचना ढकाल सिटौलालाई चयन गरिएको छ । समिति चयन गर्नका लागि बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो । क्याम्पस सभाको प्रदेश सांसद एकराज कार्कीले उद्घाटन गरेका थिए । अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद कार्की ,बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , नेकपा एमालेका ज्ञानुराम प्रसाई , राजनीतिकर्मी लोकबन्धु कन्दङ्वा , वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यलगायतले बोलेका थिए । देवी क्याम्पस २०६९ सालमा स्थापना भएको हो ।