बिर्तामोड, चैत १५ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा शाखा विस्तार गरेको छ ।

२०६७ सालमा स्थापना भएको सिम्रिक साकोसले २४ औं सेवाकेन्द्रको रुपमा इलाम नगरपालिका–७ इलाम बजारमा र २५ औं सेवाकेन्द्रको रुपमा सूर्योदय नगरपालिका – १० फिक्कलमा शाखा विस्तार गरेको हो । यसअघि इलामको दानावारीमा सेवाकेन्द्र विस्तार गरिएको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा इलाम नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिम्रिक साकोसका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेका थिए ।
कार्यक्रममा सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै सिम्रिक साकोसले प्रदान गर्ने सम्पूर्ण वित्तीय सेवा इलाम शाखाबाट प्रदान गरिने जानकारी दिए । सिम्रिक साकोसको झापा, मोरङ र इलाम जिल्लामा रहेको २७ वटा सेवाकेन्द्रमा ३३ हजार छ सय चार जना शेयर सदस्य, शेयर चुक्ता पूँजी २० करोड ६७ लाख ४८ हजार पाँच सय ७० रुपैयाँ , निक्षेप ७२ करोड ५९ लाख २२ हजार पाँच सय ७४ रुपैयाँ , ऋण लगानी एक अर्ब २९ करोड २६ लाख ४४ हजार आठ सय ८० रुपैयाँ रहेको उनले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक इलामका प्रमुख मनोज लामिछाने,उद्योग वाणिज्य संघ इलामका कार्यकारी निर्देशक नविन लामिछाने, होटल एशोसिएसन इलामका अध्यक्ष तथा प्रदेश उपाध्यक्ष देवी पौडेललगायतले सिम्रिक साकोसले इलाममा सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा सानिमा बैंक इलाम शाखा प्रमुख समिना बस्नेत, एक्सेल बैंक इलाम शाखा प्रमुख अंरीक ढकाल, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोमनाथ सुसेली, पत्रकार सुवर्ण खड्का , जागृति साकोसका टीका ढकाललगायतले इलाममा शाखा स्थापना गरेकोमा सिम्रिक साकोसलाई शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सिम्रिक साकोसका तालिम विभाग प्रमुख प्रेम बस्नेत(विजय)ले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्