बिर्तामोड,चैत २३ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सिङ्गो नगरको विकासमा टोल विकास संस्थाहरुको भूमिका अहम् हुने बताएका छन् ।

सोमवार बिर्तामोड नगरपालिका वडा नं. ३ को सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोडले आयोजना गरेको दुईदिने टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शिवाकोटीले
“समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य पुरा गर्नका लागि राजनीतिक स्वार्थलाई टाढा राखेर ऐक्यवद्ध प्रयास गरिनु पर्नेमा जोड दिए । उनले बिर्तामोड नगरको विकासमा सबै वर्ग,क्षेत्र र राजनीतिक पार्टीहरुको उतिकै साथ र सहयोगको आवश्यकता रहेकोमा जोड दिँदैै हालसम्म सहकर्मी राजनीतिक पार्टीहरुले पनि समन्वयकारी र सहयोगी भूमिका निर्वाह गरिरहेकोमा धन्यवाद समेत दिए । नगर प्रमुख शिवाकोटीले टोल विकास संस्थाहरुलाई नगर/टोलको विकासमा जिम्मेवार भएर र सबै पक्षको साथ र सहयोग लिएर अघि बढन समेत सुझाए । दुईदिने कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष भोजराज सिटौलाले विकास निर्माणका कामहरुमा आफूहरुले नगर प्रमुख शिवाकोटीलाई पूणर् साथ दिएको बताए । पार्टीभन्दा देश ठूलो हुने र समाजसेवा र राजनीतिमा लागेका व्यक्तिहरुले देश निर्माणका लागि व्यक्तिगत र पार्टीगत कुरालाई पर राखेर निस्वार्थ ढङ्गले सहयोग गर्नुपर्ने विचार राख्दै सिटौलाले नगरको विकासका लागि नगर प्रमुखलाई साथ दिँदा कहिलेकाँही आफूले आफ्नैहरुबाट पनि लान्छित हुनु परेको तितो यथार्थ समेत राखेका थिए । विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, वडा सचिव भीम अधिकारीलगायतले बोलेका थिए ।

विराट सामुदायिक अध्ययन केन्द्रका उपाध्यक्ष तथा परियोजना व्यवस्थापन समितिका संयोजक केशवराज पाठकले स्वागत गरेको सो कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का ३५ जना पदाधिकारीहरुको सहभागिता रहेको छ । विराट सामुदायिक अध्ययन केन्द्रको सभाहलमा भएको सो कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम अधिकृत अर्जुनकुमार पाठकले गरेका थिए भने उद्घाटन सत्रपश्चात् टोल विकास संस्थाका पदाधिकारीहरुले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र वडा सचिवसँग करीब एक घण्टा नगरको सेवाप्रवाह र विकास निर्माणका बारेमा अन्तरक्रिया गरेका थिए । त्यसपश्चात शुरु भएको सहजीकरण सत्रमा बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख देवराज कार्की, बरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सहजीकरण गरेको र कार्यक्रम मंगलवार समापन हुने विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्रप्रसाद सिटौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्