विराटनगर, चैत २५ । मोरङ र तेह्रथुममा भएका आगलागीबाट २५ लाखभन्दा बढीको क्षति भएको छ ।
मंगलबार बिहान १० बजे मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिमबहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा बिहान ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
त्यस्तै मंगलबार दिउँसो २ बजे तेह्रथुम छथर ५ स्थित डोप्किले देउराली सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाइ सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आगलागी हुँदा अन्दाजी १० लाख २० हजार बराबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो प्रहरी र स्थानीयबासीको सहयोगमा बेलुका ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।




