दमक, चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा स्थानीय सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाएको छ ।

दमक ७ स्थित सुनचाँदी लाइन र पञ्चमुखी टोलमा शुक्रवार नगरपालिकाले प्रहरीको सहयोगमा त्यहाँ बस्दै आएका करिव २० वटा घर टहरा खाली गर्न डोजर लगाएर भत्काएको हो । सुनचाँदी लाइन मुख्य व्यापारिक बजार क्षेत्र पर्छ । त्यहाँ करिव १० कठ्ठामा बर्षौदेखि दुई दर्जनबढी सुकुम्बासी परिवारहरु बस्दै आएका छन् ।
बस्ती खाली गराउन नगरपालिकाले करिव ३ सय सुरक्षाकर्मी परिचालन गरी बलजफती वल प्रयोग गर्नुपरेको थियो । नगरपालिकाले यसअघि पनि पटकपटक लिखित तथा मौखिक रुपमा बस्ती खाली गर्न स्थानीयलाई उर्दी गरेको थियो । बस्ती खाली गर्न पटकपटक लिखित तथा मौखिक सूचित गर्दै आएपनि अटेर गरेपछि बस्ती खाली गर्न प्रहरीसहित डोजर लगाउनुपर्ने अवस्था आएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।
त्यहाँ बहुआयामिक व्यापारिक केन्द्र निर्माण गर्ने योजना नगरपालिकाको छ । दमकको नमूना मार्गमा जोडिएको उक्त बस्तीका बासिन्दालाई सरकारी जग्गा छोड्न पटकपटक आग्रह गरेको भएपनि अटेर गर्नेको घर टहरा भत्काउनु परेको उनले बताए ।
२०४६ सालतिर रतुवा खोलाको बाढीले कटान गरेपछि त्यहाँका विस्थापित परिवारहरु सो स्थानमा बस्दै आएका थिए । वडा अध्यक्ष भीम पौडेलका अनुसार तत्कालिन प्रशासनले उनीहरुलाई अस्थायी रुपमा मात्र बसोबासको व्यवस्था मिलाएको भएपनि त्यसयता जवर्जस्ती बस्दै आएका हुन् । वडा अध्यक्ष पौडेलले भने, ‘वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुको बसोबासको निम्ति नगरपालिकाले निर्माण गरेको नमूना बस्तीमा लैजानबाट छाडिएका धनाढ्यहरुले बस्ती खाली गर्दा डोजर लगाएको आरोप लगाएका हुन् ।’
नगरपालिकाले त्यहाँका एक–दुई परिवारलाई वास्तविक सुकुम्बासी भएको पहिचान गरी नमूना बस्तीमा घर दिएको छ । तर त्यहाँ जान नमान्ने परिवारहरु बस्तीबाट हट्न आनाकानी गर्दै आएका छन् । उनीहरुले बर्षौदेखि बस्दै आएको जमिन आफ्नो नाममा भोगाधिकार भएको भन्दै हट्न मानेका छैनन् । सुकुम्बासीभन्दा हुकुमबासीले जग्गा खाली गर्न नमानेको नगर प्रमुख ओलीले बताए । उनले भने,–‘ बस्तीमा जसको करोडौको सम्पत्ति छ उनीहरु बास्तविक सुकुम्बासी होइनन् । त्यस्तै केही व्यक्तिहरुले अटेरी गरिरहेका छन् ’
उनले गत वर्ष नै हटाउने तयारी गरिएपनि कोभिडका कारण गत वर्ष नहटाईएको बताए ।
दमक नगरपालिकाले दमक ७ मा रहेको सुनचाँदी लाइन र पञ्चमुखी टोलका सुकुम्बासीहरुको घरटहरा वलपूर्वक जवर्जस्ती भत्काएको भन्दै नेकपा माओवादीले आपत्ति जनाएको छ ।
सरकारी जमिनमा लामो समयदेखि अनाधिकृत रुपमा बस्दै आएका सुकुम्बासीहरुलाई जग्गा खाली गर्न पटकपटक दिएको सूचनालाई अटेर गरेको भन्दै नगरपालिकाले प्रहरीको सहयोगमा बलपूर्वक लखेट्न थालेपछि माओवादीले त्यस कार्यप्रति आपत्ति जनाएको हो ।माओवादी नगर कमिटीका सहइन्चार्ज वेदु गौतम र सचिव तिर्थराज बस्नेतले शुक्रवार संयुक्त विज्ञप्ति जारी विनासहमति जवर्जस्ती गरिव,मजदुर भूमिहीन सुकुम्बासीलाई बलपूर्वक उठिबास लगाउने कार्य तत्काल रोक्न माग गरेका छन् ।

माओवादीले त्यहाँ बस्दै आएका भूमिहीनहरुको बैकल्पिक बसोवासको बन्दोवस्तीविना हटाउन न्यायसंगत नहुने भन्दै अविलम्ब सर्वपक्षीय छलफल गरी समस्या समाधानका लागि ठोस पहल गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालले पनि स्थानीय सरकारले बर्षौदेखि ती दुई स्थानमा ठूलो संख्यामा बस्दै आएका सुकुम्बासीहरुलाई प्रशासनको आडमा बलपूर्वक लखेट्ने कार्य बन्द गर्न माग गरेको छ ।
पार्टीका १ नम्बर प्रदेश समितिका अध्यक्ष प्रविण चाम्लिङले दमक ७ पशुहाटमा पर्ने सुनचाँदी लाइन र दमक ७ कै पञ्चमुखी टोलका बासिन्दालाई जवर्जस्ती घर खाली गराउने कार्यप्रति आपत्ति जनाउँदै त्यहाँका निमुखा ,सुकुम्बासी अवस्थाका बासिन्दालाई डोजर लगाउने कार्य रोक्न माग गरेका छन् ।
बर्षौदेखि ती दुवै क्षेत्रमा तीन दर्जनबढी अतिविपन्न घरपरिवारहरु बस्दै आएका छन् । यसअघि पनि त्यहाँको जमिन खाली गर्न नगरपालिकाले बलप्रयोग गर्दै आएपनि उठाउने प्रयास असफल हुँदै आएको थियो । स्थानीय सरकारले सुनचाँदी लाइनमा आकर्षक सुपरमार्केट सञ्चालन गर्ने तयारी गरेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्