कुमरखोद, चैत २७ । झापा गाउँपालिकाका २४४ अतिविपन्न परिवारले बस्नको लागि घर पाउने भएका छन् ।

झापा गाउँपालिकाको जनता आवास कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका अतिविपन्न परिवारहरुलाई १ लाख ७५ हजार रुपैयाँ बराबरको घर विभिन्न दातृसंस्थाको सहयोगमा झापा गाउँपालिकाले बनाईदिने भएको हो । झापा गाउँपालिकाको वडा नं २ कुवाडीमा एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष जयनारायण शाहले जनता आवास कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारहरु बस्ने आवास घरको शिलान्यास गरेका छन् । अध्यक्ष शाहले झापा गाउँपालिकाभित्र रहेका फुसको घरहरु हटाएर टिनको छाना लगाइदिने योजना नै बनाएका छन् । शाहले अतिविपन्न परिवारका लागि निर्माण हुने घरमा जनता आवास कार्यक्रमअन्तर्गत त्रिपक्षीय सहयोग रहने बताए । विपन्न परिवारहरुको घर निर्माणका लागि गाउँपालिकाको १ लाख २५ हजार , ह्याबिटेट फर नेपालको ५० हजार र सम्पूर्ण प्राविधिक सहयोग सहारा नेपाल साकोसको रहने उनले बताए ।

त्यसैगरी सहारा नेपाल साकोसका छाना टिम लिडर टिकाप्रसाद कँडेलले जनता आवास कार्यक्रमअन्तर्गत यस झापा गाउँपालिकाका अतिविपन्न २४४ घरधुरीले बस्नको लागि आवास घर पाउने बताए । जनताको आवास घर निर्माण उपभोक्ता समितिमार्पmत घर वन्ने उनले जानकारी दिए । झापा गाउँपालिकाको वडा २ कुवाडीमा नै ६० घरधुरीको लागि आवास निर्माण हुने भएको छ । घर निर्माण २०७८ सालको जेठको २५ गतेभित्र सम्पन्न हुने लक्ष्य रहेको कँडेलले बताए । टिम लिडर कडेलले आवास घर पाउने घरधुरीले सहयोग गरेमा लक्ष्यभन्दा छिटै नै निर्माण गरिसक्ने जानकारी दिए । कँडेलले झापा गाउँपालिकाले प्रदेश १ भरिमै अतिविपन्न परिवारहरुको लागि सवैभन्दा बढी आवास घरहरु ल्याउन सफल भएको जानकारी गराए । जनता आवास उपभोक्ता समिति वडा २ का अध्यक्ष भद्रुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए । कार्यक्रममा छाना टीम लिडर टिकाप्रसाद कँडेल , ईलाका प्रमुख तथा अनुगमन अधिकृत सुरुङ्गाका चुडामणी कट्टेल , कुवाडी देवी माविका प्रधानाध्यापक.रामनारायण राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहारा नेपालका प्राविधिक प्रदिप तामाङ , गाउँपालिकाका रोजगार संयोजक राजु उराउ , रोजगार शाखाका सव–ईन्जिनियर सुमन उप्रेती , सहाराका कुमरखोद सेवाकेन्द्रका प्रमुख दिपक पोखरेल, देवनारायण शाह , द्वारिका खतिवडालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सहारा नेपालका खड्ग नेपालले गरेका थिए भने स्वागत मन्तव्य न्याय समिति सदस्य राजकुमार कोचले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्