झापा , चैत २७ । आप्रवासी कामदारहरूको हकहितका लागि झापामा संगठन निर्माण भएको छ ।

झापा जिल्लाका सम्पूर्ण स्थानीय तहहरूको प्रतिनिधित्व हुनेगरी आप्रवासी कामदारहरूको जिल्लास्तरीय भेलाबाट कमल गाउँपालिकाका लेखनाथ खतिवडाको अध्यक्षतामा १८ सदस्यीय आप्रवासी कामदार हकहित संरक्षण केन्द्र झापाको जिल्लास्तरीय तदर्थ समिति गठन गरिएको हो ।जसको उपाध्यक्षमा कुमारी चेम्जोङ् हल्दिबारी,सचिव कुमार थापा बिर्तामोड ,सह–सचिव प्रेमप्रसाद सिटौला झापा गाउँपालिका र कोषाध्यक्षमा घनश्याम भट्टराई मेचीनगर नगरपालिका रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रेवतचन्द्र भण्डारी, विष्णु खरेल, तिलबहादुर बस्नेत, होमप्रसाद भट्टराई , भरत शिवाकोटी, मनमाया निरौला,वेदमाया भट्टराई , रिता राई , पोष्टबहादुर दर्जी ,रमेश सिटौला , भुपेन्द्रप्रसाद राजवंशी ,रामचन्द्र आचार्य र दिनेश पराजुली रहेका छन् । नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअनुरूप वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित, शोषणरहित तथा उपलव्धिमुलक बनाउने उद्देश्यअनुसार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व तथा स्थानीय सरकारहरूले कार्यान्वयन गर्दै गरेको सुरक्षित परियोजनाअन्तर्गत झापामा परियोजना सहजीकरण गर्दै गरेको विराट सामुदायिक अध्ययन केन्द्रको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै केही गर्दै गरेका व्यक्तिहरूको बिर्तामोडमा बिहीबार र शुक्रबार भएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमले सो तदर्थ समिति गठन गरेको हो ।

विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा बिहीबार शुरू भएको उद्घाटन सत्रको प्रमुख अतिथि रूपमा भद्रपुर नगरपालिकाका नगर प्रमुख तथा जिल्लास्तरीय सामी परियोजना व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार श्रेष्ठ रहेका थिए । दुईदिने कार्यक्रमका दौरानमा नेपालको वैदेशिक रोजगारीको अवस्था, सुरक्षित आप्रवासन परियोजना, झापामा यसले संचालन गर्दै गरेका क्रियाकलाप तथा प्रगति, आप्रवासी हकहित केन्द्रको आवश्यकता, नेपाल सरकारले प्रदान गर्दै आएका वैदेशिक रोजगारी क्षेत्रका आर्थिक सहायता तथा अन्य सेवाहरू, वैदेशिक रोजगारीका विभिन्न समस्याका उजुरी गर्ने निकाय समयावधीजस्ता विषयवस्तुमा सामी परियोजना प्रदेश नं १ संयोजक कोपिला दाहाल, सामी परियोजना प्रदेश नं १ अन्तर्गतका कार्यक्रम अधिकृत रामकुमार कर्ण तथा विराट सामुदायिक अध्ययन केन्द्रका सामी परियोजना संयोजक फणिन्द्र दाहालले प्रस्तुती राखेका थिए ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको तथ्याङ्कका आधारमा झापा जिल्ला तेस्रो स्थानमा रहेको छ भने महिलाहरूको हकमा पहिलो नम्बरमा रहेको छ । अनाधिकृत रूपमा भारतको बाटो भएर जाने तथा श्रम स्वीकृति नलिइ जाने कामदारको संख्या झापा जिल्लामा निकै ठूलो रहेको अनुमान गर्न सकिन्छ ।
वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित बनाउँदै वैदेशिक रोजगारी बाध्यताको होइन, रहरको विषय बनाउन लागिपर्ने समितिका पदाधिकारीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्