भद्रपुर , बैशाख ८ । झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीहरुलाई भद्रपुर नगरपालिकाले बधाईसहित सम्मान गरेको छ ।

यही बैशाख ३, ४ र ५ गते मेची रंगशालामा आयोजित प्रतियोगितामा जिल्लाका १४ वटा पालिकालाई पछि पार्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जित्दै उपाधिमा कब्जा जमाएको थियो । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जित्यो भने एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथ्लेटिक्समा ४, तेक्वान्दो र उसुमा १÷१ कास्य हात पारेको छ ।
स्थानीय तहको प्रतिनिधित्व रहने गरी पहिलोपटक आयोजना भएको प्रतियोगिताको उपाधि जित्नु ऐतिहासिक भएको भन्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विजेता खेलाडीहरुलाई बधाइसहित सम्मान गरेका थिए ।
नगरपालिकाको सभाहलमा बुधबार नगर खेलकुद विकास समितिका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहमा नगरप्रमुख श्रेष्ठले नगरको खेलकुद र खेलाडीको क्षमता विकासमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।
नगर शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख प्रेम भुजेलले सञ्चालन गरेको समारोहमा प्रतियोगितामा सहभागी खेलाडी तथा खेल प्रशिक्षकहरुलाई अबिर, फूलमाला पहिर्याएर समान गरिएको थियो ।
सम्मानपछि नगरप्रमुख श्रेष्ठसहित खेलाडी तथा खेल प्रशिक्षकहरुले पहिलो ऐतिहासिक विजयोत्सवको रुपमा नगर परिक्रमा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्