दमक, बैशाख १० । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले पत्रकारितासहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ ।

चुम्लुङ दमकको दशौ अधिवेशनको उद्घाटनका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका पत्रकार बिष्णु सुब्बासहित चुम्लुङ अभियानमा महत्वपूर्ण योगदान पुर्याउने एक दर्जनबढीलाई सम्मान गरेको हो । किरात भवनमा आयोजित कार्यक्रममा पत्रकार सुब्बासहित चुम्लुङका पूर्व अध्यक्षहरु लोकप्रसाद कन्दङवा,गुमानसिंह सम्बाहाम्फे, सञ्चार उद्यमीका तर्फवाट सप्तरङ्गी एफएमका अध्यक्ष मेहरमान लिङदेन, साहित्यकारका तर्फवाट सेसेमी नाल्वो ,व्यवसायीहरु श्रीजंगा टे«डर्सका सञ्चालक बर्त सुब्बा, विक्रम थाङदेन, निङवाहाङ थेवे र मनप्रसाद योङहाङलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापो,केन्द्रीय सल्लाहकार जितबहादुर लावती,केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङलगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
त्यस्तै, सोही अवसरमा चुम्लुङले दमकबाट स्नाकोत्तर गर्ने चार जना लिम्बू विद्यार्थी र ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरेको थियो । स्नाकोत्तर अध्ययन पूरा गरेका यूरोपराज फागो,विवस तुम्बापो,गुरासी तुम्बापो र विभेक फागोलाई सम्मान प्रदान गरिएको हो ।
यस्तै , दमकका १० वटै वडाबाट ७ महिला र ७ पुरुष गरी १४ जना ज्येष्ठ लिम्बु अभिभावकहरुलाई दीर्घ जीवनको कामना गरी सम्मान गरिएको थियो ।
चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको अध्यक्षतामा भएको अधिवेशन उद्घाटनमा विभिन्न जातीय संस्थाका प्रतिनिधि,लिम्बू समुदायका अग्रजहरुले शुभकामना मन्तय राखेका थिए ।
अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । नयाँ नेतृत्व चयन गर्न चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओतीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।