झापा , जेठ १ । परराष्ट्र मन्त्रालयले ११ मित्रराष्ट्रमा खटाउन राजदूत नियुक्ति सिफारिस गरेको छ ।

अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, म्यानमार, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले झापाका तीनसहित ११ जनालाई राजदूत नियुक्ति सिफारिस गरेको हो । प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद् सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । त्यसमध्ये झापाका तीनजना परेका छन् । झापा आन्दोलनमा संलग्न नेता चारपाने निवासी प्रा.डा. नारायणप्रसाद संग्रौलालाई म्यानमार, दमककी महिला नेतृ सुमित्रा भण्डारीलाई डेनमार्क र साविक महारानीझोडाका स्थायी बासिन्दा एवं पूर्व मन्त्री युवराज कार्की बहराइनका लागि राजदूतमा सिफारिस भएका हुन् ।सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको हो ।

दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा सरकारले एकैसाथ राजदुत सिफारिस गरेको हो ।राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेपनि यो पटक परराष्ट्र सेवाबाट जम्मा दुई जनामात्रै सिफारिसमा परेका छन्। राजदूत नियुक्त गरेर सहसचिव निर्मलराज काफ्लेलाई अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्ट पठाउन सिफारिस गरिएको हो।

श्रीलंकाका लागि साविक विराटनगर नगरपालिकाका पूर्व मेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीति शास्त्रका पूर्व प्राध्यापक रमेशचन्द्र पौडेललाई राजदूत सिफारिस गरिएको छ । त्रिभुवन विश्वविद्यालय, राजनीति शास्त्र विभाग पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया र वामनेता पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरलाई अष्ट्रेलियामा प्रस्ताव गरिएको छ। तुलाधर सिविन नेपालकी कार्यकारी संयोजक हुन् । काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत एवम् रूसी भाषा अनुवादक जंगबहादुर (जंगब) चौहानलाई रूसका लागि राजदूत सिफारिस गरिएको छ। पाल्पाका पूर्वसांसद कुलप्रसाद नेपाललाई ब्राजिलका लागि नेपाली राजदूत सिफारिस गरिएको छ ।यस्तै, एमालेनिकट मुस्लिम संगठनका पूर्वअध्यक्ष मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूत बनाउन परराष्ट्रले सिफारिस गरेको छ । परराष्ट्रले गरेको सिफारिस संसदीय समितिमा सुनुवाइ र पारित हुनुपर्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्