झापा, जेठ ११ । दोस्रो पटक संसद विघटन गरेका प्रधानमन्त्री केपी ओलीविरुद्ध उनको गृह जिल्ला झापामा सशक्त आन्दोलनको तयारी गरिदैँछ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरुद्धमा उत्रिन झापाका राजनीतिक दलहरुले आव्हान गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित झापाका ९ वटा राजनैतिक दलहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरुको रक्षाका खातिर आन्दोलनको अग्रमोर्चामा रहेर विगतका दिनहरुमा जस्तै सशक्त भूमिका निर्वाह गर्न झापाली जनतालाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको गुटगत षडयन्त्रको शिकार बनेको प्रतिनिधिसभाको पुनःस्र्थापनाका लागि पुनः आन्दोलनमा जानुको विकल्प नरहेको भन्दै दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशीतालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लैजाने षडयन्त्रको पर्दाफास गर्दै संयुक्त जनआन्दोलनका कार्यक्रमहरु अघि बढाउन अब ढिला गर्न नहुने बताएका छन् । कांग्रेसका जिल्ला सभापति उद्धव थापा , माओवादी केन्द्रका सचिव मणिकुमार साम्पाङ , नेकपा एमालेका अध्यक्ष वेदराज रेग्मी , जनता समाजवादी पार्टीका दिेपेनवाला राई , बहुल राष्ट्रिय मोर्चाका सन्जुहाङ पालुङ्वा , संघीय लिम्बूवान मंचका धनबहादुर पन्धाक , विवेकशील साझा पार्टीका मेदनी प्रसाई , राष्ट्रिय जनमोर्चाका सन्तोष राई र राष्ट्रिय जनमुक्ति पार्टीका प्रकाश थम्देनले संयुक्त रुपमा सो विज्ञप्ति जारी गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्