झापा , जेठ १६ । बिर्तामोड ४ बस्ने भाद्रु राजवंशीले हराएको छोरो खोज्दै भौतारिएको करीब तीन महिना पुग्न लाग्यो ।उनले आफ्ना छोरा देवनारायणलाई खोजिदिनका लागि नगुहारेको कोही पनि बाँकी छैन ।

जनप्रतिनिधि , प्रहरी , राजनीतिकर्मी , कर्मचारी , पत्रकारलगायतलाई उनले छोराको खोजीका लागि सहयोग गरिदिन आग्रह गरिसकेका छन् । तर, अझै उनका छोराको अत्तोपतो छैन । महेन्द्र रत्न माविको कक्षा ५ मा अध्ययन गर्ने भाद्रुका एक्लो छोरा १६ वर्षिय देवनारायण गत फागुन १९ गते दिउँसो साढे ४ बजे डेराबाट बेपत्ता भएका हुन् ।

अटो चलाएर गुजारा गर्ने बाबु भाद्रुले छोरा हराएयता काम गरेका छैनन् । दिनरात छोराको खोजी मात्र गर्दै आएका छन् । छोरा हराएपछि उनले एक महिना ८ दिन आफ्नो सिटीमा माइकिङ र पम्प्लेटिङ गरे । ‘बिहान ५०० रुपैयाँको तेल हाल्थे दिनभरि खोज्थे ’उनी भन्छन् ,‘त्यसपछि बेलुका फेरि ५०० रुपैयाँको तेल हालेर खोज्न निस्किन्थे ।’ उनी त्यसरी छोरा खोज्दै राजगढ , घेरावारी , काँकरभिट्टा , पथरिया , इटहरी , दमक , गौरादह , विराटनगर ,रंगेली , भारतको कदुभिट्टा , डिघलबैंकलगायतका ठाउँमा पुगिसके । आफन्त नातागोता नचाहारेको ठाउँ छैन । छोराको फोटो देखाउँदै झापाका सबै प्रहरी कार्यालयमा आफ्नो समस्या राखिसके । ‘सिडिओ , एसपी , डिएसपी , सांसद , मेयर , वडाध्यक्ष , कर्मचारी , पत्रकारलगायतलाई भनिसके ’भाद्रु भन्छन् ,‘ सबैले सहयोगको आश्वासन दिनु भएको छ तर छोरा अहिलेसम्म भेटिएको छैन ।’ छोरा खोज्नका लागि आफूले ७० हजार जति खर्च गरिसकेको उनले बताए ।

कचनकवल स्थायी ठेगाना भएका भाद्रु बिर्तामोड ३ मा रहेको डेराबाट उनको छोरा हराएको हो । डेरामा बस्ने अरु दुईजना युवा सँगै हराएकोमा उनीहरु आएको तर आफ्नो छोरा अझै नफर्किएको उनले बताए । छोरा खोजी गरिदिनका लागि उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । कसैले आफ्नो नावालक छोरालाई बहकाएर लगेको उनको आशंका छ । त्यसबारे अनुसन्धान गर्दा त्यस्तो नदेखिएको बिर्तामोड प्रहरीका डिएसपी सन्तोष आचार्यले बताए । छोरा हराएपछि विक्षिप्त बनेका भाद्रुले छोरा खोजी दिनका लागि प्रहरीलाई तदारुकताका साथ लागिदिन आग्रह गरेका छन् । उनले हराएका आफ्ना छोरालाई कसैले फेला पारेमा ९८२४०३४५६१ नं मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्