रामप्रसाद ढुंगेल
अबुधाबी , जेठ १९ । युएइ सरकारले नेपाललाई अनुदानस्वरुप दिएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ ।

नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई अनुदान सहयोग दिएको १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर आज नेपाल पुगेको नेपाली दूतावास अबुधाबीले बताएको छ ।
कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवनरक्षक मानिने बहुउपयोगी यो प्रकृतिको एउटा भेन्टिलेटरको मुल्य करिब २० लाख नेपाली रुपैयाँ पर्ने दूतावास श्रोतले जानकारी दिएको छ ।


अबुधाबीस्थित नेपाली दूतावासले युएइको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ्य समस्या उत्पन्न हुन लागेकोले यथासक्य सहयोग गर्न आग्रह गरेपछि युएइ सरकारले अहिलेसम्मकै ठूलो मात्रामा सहयोग उपलब्ध गराएको हो । कोरोना प्रभावित बिरामीको लागि अति उपयोगी मानिने भेन्टिलेटर युएइ सरकारको विशेष विमानमार्फत नेपाल पुगेको जानकारी दिदै युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, ‘युएइ सरकारले नेपालका विशेष बिपत्तिहरुमा निरन्तर सहयोग गर्दै आएको छ । दूतावासको अनुरोधलाई गम्भीरतापूर्वक लिएर उल्लेखनीय सहयोग गरेकोमा युएई सरकारलाई हार्दिक आभार प्रकट गर्दछु ।’ १ सय १५ वटा भेन्टिलेटरसहित अन्य मेडिकल सामग्रीको तौल १२ हजार ५ सय टन बराबर रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्