दमक, जेठ ३० ।दमकमा आज आइतबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै दमकमा संक्रमित मृतकको संख्या २३ पुगेको छ ।

आज दमक ५ का एक पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोश्रो भेरियन्टबाट हालसम्म कूल १ हजार १ सय ३७ जना संक्रमण मुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।
दमकमा पिसिआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल १५१२ जनामा कोरोनाको दोश्रो भेरियन्ट पुष्टि भइसकेको छ । जसमध्ये महिलाको संख्या७३२ छ । दमकमा हाल सक्रिय संक्रमितको संख्या ३५२ रहेको र होम आइसोलेसनमा रहेकाको संख्या ३४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले हालसम्म ११४६ जनाको निशुल्क पिसिआर परीक्षण गरेको छ । पछिल्लो २४ घण्टामा झापाका चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जसमा तीन महिला र एक जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार शिवसताक्षीकी ६७ वर्षीया महिला, दमककी २४ वर्षीया महिला, झापा गाउँपालिकाकी २७ वर्षीया महिला र कनकाईका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।
यसैबीच झापामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७३ जना महिला छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ३२ महिलासहित ६२ जना, बिर्तामोडका ८ महिलासहित २५ जना, अर्जुनधाराका ८ महिलासहित २१ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी, शिवसताक्षीमा ८ महिलासहित १५ जना, झापामा ७ जना, कनकाई, हल्दिबारी, बुद्धशान्ति, कचनकवल र कमलमा ४–४ जना, मेचीनगरमा ३ जना, बाह्रदशीमा २ जना र भद्रपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।आइतबार १३१ जना कोरोना जितेर घर फर्किएका छन् । झापामा डिस्चार्ज हुनेको संख्या ९ हजार ४९३ पुगेको छ ।झापामा कुल संक्रमितको संख्या १२ हजार २४२ पुगेको छ भने सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा उपचाररतको संख्या २ हजार ४६४ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्