झापा , असार ६ । कोरोना संक्रमितहरु मास्कसमेत नलगाई खुलेआम बाहिर हिड्ने गरेको पाइएको छ ।

फाइल फोटो

भद्रपुर नगरपालिकाले अनुगमन गर्नेक्रममा कोरोना संक्रमितहरु होम आइसोलेसनमा नबसी खुलेआम बाहिर हिड्ने गरेको भेटिएको हो । बाहिर हिड्दा संक्रमितहरु मास्कसमेत प्रयोग नगरेको पाइएको छ । नगरपालिकाको टोलीले शनिबार आइसोलेसनमा बसेका वडा नं १० कोरोेना संक्रमितहरुका बारेमा अनुगमन गरेको थियो । त्यसक्रममा केही संक्रमितहरु घरभित्र नभेटिएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले बताए । मास्कसमेत नलगाई उनीहरु घरबाहिर हिडिरहेका थिए । घरमा बस्दाबस्दा दिक्क लागेर आफूहरु बाहिर घुम्न हिडेको प्रतिक्रिया उनीहरुले दिएको स्वास्थ्य सहायक भट्टराईले बताए । स्वास्थ्य सुरक्षाका सावधानीहरु संक्रमितहरुले अपनाउन छोडेको पाइएको छ । कोरोना संक्रमण नसर्ने भन्दै सावधानी अपनाउन छोडेको भट्टराईले जानकारी दिए । अनुगमनका क्रममा भद्रपुर वडा नं ४ मा पनि त्यस्तै भेटिएको थियो ।भद्रपुरमा हाल ३ सय ९३ जना सक्रिय संक्रमितहरु रहेका छन् । त्यसमध्ये अस्पताल आइसोलेसनमा १३ जना र कलवलगुडी आइसोलेसनमा ४ जना रहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् । भद्रपुरमा कूल संक्रमितको सँख्या १०९८ पुगेको छ भने त्यसमध्ये ६६५ जना निको भएका छन् । कोरोना संक्रमणको नयाँ भेरियन्ट कारण भद्रपुरमा २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्